नेपाल बैंकको अध्यक्षबाट राजीनामा नदिँदै अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकको सपथ



काठमाडौं । राष्ट्र बैंक ऐन विपरीत अर्थसचिव मधु मरासिनीले राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ ग्रहण गरेका छन् । बुधबार अर्थसचिव मरासिनीले न्यायाधीश तेजबहादुर केसी समक्ष सपथ लिएका हुन् ।

मरासिनी गत साउन १८ गतेदेखि अर्थसचिवका रुपमा कार्यभार सम्हालेका हुन् ।

राष्ट्र बैंक ऐनअनुसार सरकारको प्रतिनिधिका रुपमा अर्थसचिव राष्ट्र बैंकको पदेन सञ्चालक रहने व्यवस्था छ ।

‘वाणिज्य बैंक तथा वित्तीय संस्थाको बाहलवाला पदाधिकारी भएको अवस्थामा सञ्चालक समितिमा बस्न अयोग्य हुनेछ,’ राष्ट्र बैंक ऐनको दफा २१ (घ)मा उल्लेख छ ।

केन्द्रीय बैंकको सञ्चालकमा ७ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था छ । जसमा गभर्नर अध्यक्ष, सदस्यहरुमा अर्थमन्त्रालयका सचिव, दुई जना डेपुटी गभर्नर र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनका क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिबाट नेपाल सरकारले नियुक्त गरेका तीन जना सदस्य रहने व्यवस्था छ ।

वाणिज्य बैंकहरुको अध्यक्ष वा सञ्चालक रहेका व्यक्तिले राष्ट्र बैंकको सञ्चालकका हैसियतमा सपथ लिनु पूर्व नै पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ । तर हालसम्म नेपाल बैंकको अध्यक्ष मरासिनीको राजीनामा पत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा प्राप्त नभएको सीइओ चन्द्रसिंह साउँदले जानकारी दिए ।

अर्थसचिव मारासिनी नेपाल बैंकका अध्यक्ष पनि हुन् । बैंकका तत्कालीन अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएपछि मरासिनीले बैैंकको अध्यक्षका रुपमा कार्यभार सम्हालेका छन् ।

मरासिनी अर्थसचिव भएपछि बैंकको अध्यक्षबाट राजीनामा सञ्चालक समितिमा बुझाउनु पर्ने हुन्छ । तर उनको राजीनामा सञ्चालक समितिमा प्राप्त नभएको बैंकका सीइओ कृष्ण अधिकारीले क्लिकमाण्डूलाई बताए ।

‘अर्थसचिव भइसकेपछि राष्ट्र बैंकको पदेन सञ्चालक हुनुपर्छ, सपथ लिनुअघि सञ्चालक समिति समक्ष राजीनामा दिनुपर्ने हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले सञ्चालक समितिको बैठक नै नबसेको अवस्थामा उनको राजीनामा आइसकेको छैन ।’


क्लिकमान्डु