वित्तीय क्षेत्रका लागि राष्ट्रिय रणनीति बनाउँदै छौं, बजेट संशोधनले मौद्रिक नीतिमा ढिलाइः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि लागू हुने गर्नेगरी वित्तीय क्षेत्र राष्ट्रिय रणनीति बनाएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘राष्ट्र बैंक वित्तीय क्षेत्रको राष्ट्रिय रणनीति बनाउन लागेको छ । अहिलेको अवस्थालाई देखाउने र आगामी वर्षहरुमा प्राप्त गर्नुपर्ने उपलब्धीसमेत समेटेर रणनीति बनाउने हाम्रो योजना छ,’ गभर्नर अधिकारीले भने ।

गभर्नर अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति बजेट संशोधनका कारण पर धकेलिएको पनि बताएका छन् ।

‘सरकार परिवर्तन भएपछि अध्यादेशमार्फत् आएको बजेटलाई संशोधन गर्ने भनिएको छ । त्यसो हुँदा बजेटको आकार, प्राथमिकता, स्रोतआदिमा फरक पर्ला भनेर मौद्रिक नीति कुरेका हौं,’ गभर्नर अधिकारीले भने, ‘मौद्रिक नीति ल्याउन हामी तयारी अवस्थामा नै छौं । महामारीको तेस्रो लहरको पनि चेतावनी छ, अबको हाम्रो नीति रिकभरी लक्षित हुन्छ ।’

महामारीको पहिलो लहरमा राष्ट्र बैंकले व्यापार व्यवसाय कसरी जोगाइराख्ने (सर्भाइभल) लक्षित नीति बनाएको र दोस्रो लहरपछि रकभरीका लागि प्रयास गरिरहेको उनले बताए ।

कोभिडबाट अति प्रभावित क्षेत्र होटल, पर्यटन, सार्वजनिक यातायात, मनोरञ्जन क्षेत्रका लागि मौद्रिक नीतिले विशेष ध्यान दिने अधिकारीले बताए ।

बढ्दो ब्यापार घाटाका कारण विनिमय सञ्चिती र शोधनान्तर स्थीतिमा चाप परेको पनि गभर्नर अधिकारीले बताए ।

पेट्रोलियम पदार्थको आयातले नेपालको वैदेशिक व्यापारमा ठूलो घाटा सिर्जना गरिरहेकाले आगामी वर्षमा विदेशी विनिमय सञ्चितीमा यसले चुनौती सिर्जना गर्ने उनको भनाइ छ ।


क्लिकमान्डु