एक साताभित्रै मौद्रिक नीति ल्याउँछौंः गभर्नर



C

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति साउनको तेस्रो साता सार्वजनिक हुने भएको छ । बजेट संशोधनलाई केही हप्ता कुरेको राष्ट्र बैंकले अब भने मौद्रिक नीति ल्याउने भएको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति आइतबारसम्म सार्वजनिक गरिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

‘यही साताको शुक्रबार वा अर्को साताको आइतबार/सोमबारतिर मौद्रिक नीति सार्वजनिक गर्ने हाम्रो तयारी छ,’ गभर्नर अधिकारीले क्लिकमाण्डूसँग भने, ‘नयाँ अर्थसचिव आउनुभएको छ, उहाँसँग छलफल गर्न बाँकी छ, त्यसपछि मौद्रिक नीति आउँछ ।’

राष्ट्र बैंकले केही समय सरकारले गर्ने भनेको बजेट संशोधनलाई पर्खिएको तर बजेट संशोधन हुन केही ढिलाइ हुने भएकाले मौद्रिक नीति ल्याउन लागिएको उनले जानकारी दिए ।

अर्थ मन्त्रालयमा कार्यरत अर्थसचिव शिशिर ढुङगाना सरुवा भएर साउन १८ गतेदखि प्रधानमन्त्री कार्यालम गएका छन् । अर्थ सचिवमा मधु मसासिनी नियुक्ति भएर कार्यभार पनि सम्हालि सकेका छन् ।

राष्ट्र बैंकमा सरकारको प्रतिनिधिको रुपमा अर्थ सचिव पदेन सञ्चालक हुने व्यवस्था छ ।

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिव मसासिनीसँग बैठक बसेपछि मौद्रिक नीतिको मस्यौदा पारिद भएर सार्वजनिक गरिने गभर्नर अधिकारीले बताए ।

अर्थसचिवको पदभार ग्रहण गरिसकेका मरासिनीले राष्ट्र बैंकको सञ्चालकको सफथ भने खाइसकेका छैनन् ।

‘पर्सीसम्ममा राष्ट्र बैंकको सञ्चालकको पदभार ग्रहण गर्छुहोला,’ सचिव मरासिनीले क्लिकमाण्डूसँग भने, ‘पदभार नै ग्रहण नगरिसकेकाले अहिले नै मौद्रिक नीतिका बारेमा केही भन्न सक्दिन ।’

सचिव मरासिनी नेपाल बैंकको अध्यक्ष पनि हुन् । राष्ट्र बैंकको सञ्चालकको सफथ खानुअघि नै नेपाल बैंकको अध्यक्षबाट राजीनामा दिनुपर्ने हुन्छ ।


पुष्प दुलाल