चन्द्र ढकालमाथि उठेको नैतिक प्रश्नः धितोपत्र बोर्डको संचालकमा बसेर आफैंलाई नियमन गर्न मिल्छ ?



काठमाडौं । पछिल्लो दशक व्यवसायमा सफलता ठूलो पाएका व्यवसायी चन्द्र ढकालमाथि गंभीर नैतिक प्रश्न उठेको छ ।

व्यवसायी ढकाल अहिले नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष हुन् । नेपाल धितोपत्र बोर्डको कानूनअनुसार एकजना संचालक नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि हुने व्यवस्था छ । विधानअनुसार ढकाल अर्को कार्यकालका लागि महासंघको स्वतः अध्यक्ष पनि हुन् ।

चन्द्र ढकाल कानूनअनुसार नै धितोपत्र बोर्डमा नेपाल उद्योग वाणिज्य महासंघबाट धितोपत्र बोर्डमा संचालक बनेका हुन् । तर, ढकाल धितोपत्र बोर्डले प्रत्यक्ष नियमन गर्ने ४ वटा संस्थामा अध्यक्ष तथा संचालक छन् । आधा दर्जन बढी कम्पनीमा ठूलो सेयरधनी छन् ।

ढकाल लामो समयदेखि ग्लोबल आइएमई बैंकमा अध्यक्ष छन् । ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक हो । जसको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल मर्चेन्ट बैंकको कारोबार गर्ने ठूलो संस्था हो ।

यस्तै चन्द्र ढकाल चन्द्रागिरी हिल्सको अध्यक्ष छन् । जसले गतवर्ष सर्वसाधारणलाई सेयर जारी गरेको थियो ।

यसबाहेक चन्द्र ढकाल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र जलविद्युत् क्षेत्रको कम्पनी हिमालयन पावर पार्टनरमा समेत संचालक छन् ।
आइएमई समूहको प्रमुख लगानी रहेको हाथवे कम्पनीलाई सेयर बजारमा निजी क्षेत्रको ठूलो लगानीकर्ताको रुपमा लिइन्छ ।

धितोपत्र बोर्ड भनेको पुँजी बजारसँग सम्बन्धी नियमकानून बनाउने, त्यसको कार्यान्वयन गर्ने, सूचिकृत कम्पनीहरुको नियमन गर्ने निकाय हो । सूचिकृत कम्पनीको अध्यक्ष तथा सञ्चालक स्वयं बेर्डको सञ्चालक समितिमा बसेर आफैंलाई कसरी नियमन गर्छ ? भन्ने गंभीर प्रश्न चन्द्र ढकाल र धितोपत्र बोर्डमाथि उब्जिएको छ ।

‘महासंघले धितोपत्र बोर्डमा संचालक हुन पठाएपछि चन्द्रजीलाई संचालक हुनबाट कानूनीरुपमा रोक्न सकिने स्थिति थिएन, बोर्ड आफैंले नियमन गर्ने ४ वटा संस्थाको अध्यक्ष तथा संचालक भएको व्यक्तिले नैतिकताको विषय आफैंले हेर्नु पर्ने थियो,’ बोर्डका एक संचालकले भने ।

धितोपत्र बोर्डको कानूनमा संचालक समितिमा एकजना प्रतिनिधि नेपाल उद्योग वाणिज्य महासंघबाट र अर्को नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान) बाट हुने व्यवस्था छ ।

आइपीओ निष्काशन गर्ने प्रक्रिया शुरु भएपछि सर्वोत्तम सिमेन्टको सेयर चन्द्रका भाई हेमराज ढकाल र चन्द्रकै लगानी रहेको कम्पनी हाथवेको नाममा किनेको भेटिएको थियो । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरीको नाममा, नेप्सेका प्रमुख चन्द्रसिंह साउद तथा चन्द्रका भाई हेमराज ढकाल र आफ्नै लगानीको कम्पनीका नाममा किनिएको सेयरले विवाद भएको छ । चन्द्र ढकाल र सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले भने विभिन्न व्यवसायमा साझेदारी भने गरेका छन् ।

बोर्डमा महासंघ र आइक्यानको प्रतिनिधि संचालक हुँदा व्यवसायिक स्वार्थ देखिएको हुँदा सो क्षेत्रबाट संचालक हटाउने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयक अहिले प्रतिनिधिसभामा दर्ता भएर राजनीतिक अन्यौलताको कारण अलपत्र छ ।

नेपाल उद्योग वाणिज्य महासंघले ढकाललाई सर्वोत्तम सिमेन्टको सेयर खरिदबिक्रीसँग जोडिएकोमा आपत्ति जनाएको छ । महासंघले संस्थागतरुपमा ढकाललाई बचाउ गरेकोमा भने महासंघ आबद्ध व्यवसायीहरुबीच नै विवाद देखिएको छ ।

‘आफ्ना पदाधिकारीको बचाउनमा महासंघको प्लेटफर्मको मिसयुज गर्नु हुँदैन थियो, शेखर गोल्छाजस्तो व्यावसायिक व्यक्ति अध्यक्ष भएको संस्थाबाट हामी यस्तो विज्ञप्तिको अपेक्षा गरेकै थिएनौं,’ महासंघकै एक कार्यकारीणी सदस्यले भने ।

धितोपत्र बोर्डको संचालक समितिमा उद्योग वाणिज्य महासंघबाट प्रतिनिधि भएर जाने व्यवसायीको विषयलाई लिएर उठेको विवाद भने नयाँ होइन । व्यवसायिक स्वार्थ गासिएको क्षेत्रमा नियमनकारी निकायमा काम गर्ने र संचालक समितिमा बस्ने व्यक्तिहरु जोडिनु हुँदैन भन्ने सर्वमान्य सिद्दान्त हो । जसकारण सेयर बजारको नियमनकारी निकाय धितोपत्र बोर्डको संचालक समितिमा महासंघको प्रतिनिधि र आइक्यानको प्रतिनिधिको विषय विगतदेखि नै विवाद उठ्दै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हुँदा प्रदिपजंग पाण्डे सिटिजन्स बैंकको संचालक समिति अध्यक्ष थिए । उनी धितोपत्र बोर्डमा त्यो बेला महासंघको प्रतिनिधिको रुपमा संचालक थिए ।

त्यसपछि भने बोर्डमा संचालकको रुपमा शेखर गोल्छा थिए । गोल्छा सुरुमा धितोपत्र बोर्डको कार्यक्षेत्रमा भने संस्थामा संचालक भने थिएनन् । पछि उनी युनियन लाइफमा संचालक थिए । युनियनले सेयर निष्कासन गर्ने प्रक्रिया शुरु गर्दै गर्दा उनी महासंघ अध्यक्ष भए । महासंघ अध्यक्ष भएपछि गोल्छाको ठाउँमा ढकाल संचालक बनेका हुन् ।

‘पहिलो कुरा महासंघले धितोपत्र बोर्डको सञ्चालक समितिमा चन्द्रजीलाई पठाउनै हुँदैन थियो, दोस्रो कुरा महासंघले पठाउने निर्णय गरेपछि चन्द्रजी आफैंले मेरो स्वार्थ बाझिन्छ भनेर बोर्डको सञ्चालक बन्न अस्वीकार गर्नुपर्थ्यो,’ महासंघकै एक पदाधिकारीले भने, ‘हामी व्यवसायीका नेताहरुले कानून मात्रै हेर्नु हुँदैन, नैतिकवान पनि बन्न सक्नुपर्छ ।

धितोपत्र बोर्ड भनेको पुँजी बजारसँग सम्बन्धी नियमकानून बनाउने, त्यसको कार्यान्वयन गर्ने, सूचिकृत कम्पनीहरुको नियमन गर्ने निकाय हो । सूचिकृत कम्पनीको अध्यक्ष तथा सञ्चालक स्वयं बेर्डको सञ्चालक समितिमा बसेर आफैंलाई कसरी नियमन गर्छ ? भन्ने गंभीर प्रश्न चन्द्र ढकाल र धितोपत्र बोर्डमाथि उब्जिएको छ ।

महासंघ र आइक्यानको प्रतिनिधि संचालक हटाउने व्यवस्था प्रस्तावित विधेयकमा

धितोपत्र बोर्डको संचालकमा महासंघ र आइक्यानको प्रतिनिधि हटाउने व्यवस्था भने धितोपत्र बोर्ड ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकको मस्यौदामा प्रस्ताव गरिएको छ ।

बोर्डमा महासंघ र आइक्यानको प्रतिनिधि संचालक हुँदा व्यवसायिक स्वार्थ देखिएको हुँदा सो क्षेत्रबाट संचालक हटाउने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयक अहिले प्रतिनिधिसभामा दर्ता भएर राजनीतिक अन्यौलताको कारण अलपत्र छ ।


पुष्प दुलाल