वार्षिक करिब ५ अर्बको प्याज आयात



काठमाडौं । नेपाली भान्सामा सँधै प्रयोग हुने प्याज मात्रै एक वर्षको अवधिमा करिब ५ अर्बको आयात गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १२ करोड ८४ लाख ५४ हजार केजी सुकेको तथा नसुकेको प्याज आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

जसमा सुकेको प्याज २ अर्ब ४६ करोड ८२ लाख रुपैयाँ बराबरको ६ करोड २७ लाख ५४ हजार केजी आयात भएको छ भने हरियो प्याज २ अर्ब ४९ करोड ६ लाख बराबरको ६ करोड ५६ लाख ९९ हजार केजै आयात भएको तथ्याङ्कले उल्लेख गरेको छ ।

उक्त आायातित प्याजबाट नेपाल सरकारले ४४ करोड ८० लाख २७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

विभागका अनुसार आयातित प्याज अधिकांश प्यान भारतबाट आयात भएको देखिन्छ । भारतबाट मात्रै सुकेको र हरियो प्याज गरी २ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको ६ करोड १६ लाख ५४ हजार केजी आयात गरेको छ ।

त्यस्तै चीनबाट ८ करोड ७६ लाख ८८ हजार रुपैयाँ बराबरको १० लाख ३५ हजार केजी, इजिप्टबाट २ करोड २ लाखको ३ लाख ६६ हजार केजी, टर्कीबाट ७९ लाखको १लाख १४ हजार केजी र इन्डोनेसियाबाट ८ हजार बराबरको २ सय केजी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब २२ करोड ४६ लाख रुपैयाँको १० करोड ६८ लाख ३४ हजार आयात गरेको थियो । उक्त आयातित प्याजबाट २४ करोड ५५ लाखको राजश्व संकलन गरेको छ ।

साथै आव २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँ बराबरको १७ करोड ८४ लाख ६८ केजी, २०७४/७५ मा ४ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ बराबरको ३१ करोड ९१ लाख ६ हजार केजी र आव २०७३/७४ मा ४ अर्ब २१ करोड ८९ लाख रुपैयाँ बराबरकोय १३ करोड ४ लाख १३ हजार केजी प्याज आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।


पुष्प दुलाल