टाटा नेक्सन ईभी नेपालमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार



काठमाडौं । टाटा मोटर्सको बहुप्रतिक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण शुरु भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले साउन १२ गते (मंगलबार) टाटा नेक्सन ईभी सार्वजनिक गरेको हो । टाटा नेक्सन ईभीको शुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

टाटा नेक्सन ईभी ३ वटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ । नेक्सन-ईभीको सस्तो भेरियन्टक एक्सएमको मूल्य ३५ लाख ९९ हजार मिडियम भेरियन्ट एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र टप भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान भएको नेक्सन-ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । नेक्सन ईभी फुल चार्जमा ३ सय किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दावी छ ।

सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलरमा तीनवटै भेरिएन्टमा उपलब्ध नेक्सन-ईभी अत्याधुनिक जिपट्रोन प्रविधिमा आधारित भई आकर्षक र सुरक्षित फिचर्समा निर्माण गरिएको कम्पनीको भनाई छ ।

सन् २०२० को जनवरीबाट भारतमा बिक्री वितरण शुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ ।

भारतमा करिब ४ हजार ५ सय भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले हालसम्म १८ वटा पुरस्कार जितेको कम्पनीले जनाएको छ । त्यसैले नेक्सन ईभीे सबैभन्दा बढी पुरस्कारहरुबाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी पनि हो ।


क्लिकमान्डु