‘मेरो देश, मेरै उत्पादन’ अभियानको दोश्रो चरण शुरु



विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले शुरु गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको दोस्रो चरण शुरु भएको छ ।

स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने र सम्मुन्त राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यसहित गत चैत्र १३ गते तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीले यो अभियानको पहिलो चरणको औपचारिक शुरुवात गरेका थिए ।

प्रदेश नंम्बर १ का मुख्यमन्त्री शेरधन राई, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेले बुधबार यो अभियानको लोगो र प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

यो अभियानले तयार पारेको प्रतिवद्धता पत्रमा ४ वटा बुँदा उल्लेख गरिएको छ । जसमा ‘मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पुरा गर्दछु, म आफना छिमेकी, साथी–भाई, ईष्ट–मित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु तथा उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधै लागिपर्नेछु’ भन्ने उल्लेख छ ।


क्लिकमान्डु