अर्थमन्त्री-कोरियाली राजदुत भेटः भाषा परीक्षा उत्तीर्णलाई लैजान र इपीएस परीक्षा खुलाउन आग्रह
काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ–सुकले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् ।
बुधबार अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
कोभिड १९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने काम तत्काल गर्ने प्रतिवद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गरे ।
‘इपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु,’ मन्त्री मन्त्री शर्माले राजदुत पार्कसँग भने ।
जवाफमा राजदुत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने बताए । त्यस्तै, भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने पनि आश्वासन दिए ।
भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली सरकारबाट सहयोगको अपेक्षा राखेको पनि बताए ।
भेटको क्रममा राजदुत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिसुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाइबारे पनि चासो राखेका थिए । आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ उनको चिन्ता थियो ।