सम्पत्ति कर नबुझाउने २० करदाताको घर र कार्यस्थलमै गएर महानगरले माइकिङ गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमै गएर बुधबारदेखि माइकिङ शुरु गरेको छ ।

माइकिङसँगै साउन १५ गतेभित्र कर तिर्न नआए घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सूचना पनि टाँस गरिएको छ ।

‘यसअघि हामीले उहाँहरुलाई सम्पर्कमा ल्याउन धेरै प्रयास गर्यौँ । अनुरोध गर्यौँ । तर, उहाँहरुले विवरणसम्म पनि बुझाउनु भएन,’ महानगरपालिका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले भने ।

पहिलो चरणमा नाम सार्वजनिक गरेका २० करदातामध्ये बुधबारसम्ममा वडा ११ को एनआरटी क्लव, वडा १३ को काठमाडौँ इञ्जिनियरिङ् कलेज, र वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्कमा आएका छन ।

बाँकी करदाताले सम्पर्कसमेत नगरेको महानगरले जनाएको छ ।

‘यी करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठिन छ । तर, हामीले करीब ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौँ,’ अधिकारीले भने ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले आज वडा ११ को एनआरटी क्लव र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स र वडा १३ का काठमाडौँ इञ्जिनियरिङ् कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ् गर्दै सूचना टाँस गरेको छ ।

महानगरलाई करको विवरणसम्म नबुझाउने अरु करदातामा आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान, एलआरआइ स्कूल, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ लिमिटेड, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन् ।

यी करदातालाई कर तिर्न महानगरले दिएको म्याद साउन १५ गते सकिँदैछ ।


क्लिकमान्डु