मौद्रिक नीति आउन ढिलाइ भएपछि बैंकलाई ऋण उठाउने समय थप्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋण उठाउने समय थप गर्ने भएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षसम्म उठाउनु पर्ने ऋण थप चालु आवमा पनि उठाउने समय थप गर्न लागेको हो ।

जसपश्चात राष्ट्र बैंकले दिएको थप समयमा समेत बैंक तथा वित्तीय संस्थाले गत आवको असारमसान्तसम्म उठाउनु पर्ने साँवा ब्याज उठाएर सो अवधिको नाफामा गणना गर्न पाउनेछन् ।

कोरोनाका कारण सरकारले गरेको निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाले गत आवमा शतप्रतिशत साँवा ब्याज उठाउन नसकेका कारण समय थप गर्न लागिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘गत आवमा पनि अघिल्ला आवका लागि ३ महिनाको समय थप गरिएको थियो, अहिले पनि सबै क्षेत्रमा कोरोनाको असर परेको हुँदा समय थप गर्न लागिएको हो,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘मौद्रिक नीतिमार्फत् नै यो व्यवस्था हुन्थ्यो तर मौद्रिक नीति आउन ढिलाइ हुने भएपछि यसलाई सर्कुलरमार्फत् ल्याउन लागिएको हो ।’

अघिल्लो वर्षका लागि दिइएको समयलाई नै अध्ययन गरी राष्ट्र बैंकले बैंकहरुलाई ऋण उठाउने समय थप गर्ने उनको भनाइ छ ।

‘पहिलो चरणमा भदौसम्मको दिएर हेर्न त्यसपछि आवश्यक भएमा समय थप गर्ने कुरा उठाउन भएको थियो तर अहिले बैंकहरुले असार मसान्तसम्म संकलन गरेका साँवा ब्याजको विवरण हेरेर त्यसमा समय थप हुन सक्ने सम्भावना छ,’ उनले थपे ‘असोज वा कात्तिक महिनासम्म नै उठाएको साँवा ब्याजलाई असार मसान्तसम्मको नाफामा गणना गर्न पाउने सुविधा बैंक तथा वित्तीय संस्थाले पाउँछन् ।’

कोरोनको कारणले कतिपय ऋणीले आघिल्लो आवदेखि कै साँवा ब्याज तिर्न नसकेको र राष्ट्र बैंकले तोकेको दायरा पूरा गरी कर्जाको पुनरतालिकीकरण समेत गराउन नसकेको हुँदाँ अहिले त्यसलाई समेत सम्बोधन गरेर सर्कुलर जारी गरिने उनले जानकारी दिए ।


क्लिकमान्डु