यी हुन् धेरै ऋण लिने २५ कम्पनी, कसले कति लिए ?



काठमाडौं । नेपालमा संचालन रहेका व्यवसायिक कम्पनी तथा फर्ममा २५ वटा कम्पनीले बैंकबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको भेटिएको छ ।

२६ वटा कम्पनीले २ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन् । वाणिज्य बैंकहरुले ३७ खर्ब ६ अर्ब रुपैयाँ कर्जा दिएका छन् । यस आधारमा २५ वटा कम्पनीले मात्र कर्जामा साढे ५ प्रतिशत हिस्सा लिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले ५० करोडभन्दा बढीको ऋणको क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था गरेको छ । क्लिकमाण्डूले रेटिङ गराएका कम्पनीहरुको आधारमा ५ अर्बभन्दा बढी ऋण लिने कम्पनीको सूचि निकालेको हो । यसमा जलविद्युत् कम्पनीलाई भने जोडिएको छैन ।

५ अर्बभन्दा बढी ऋण लिने कम्पनीमा टेलिकम, सिमेन्ट, अटोमोबाइल्स तथा ट्रेडिङ कम्पनीको संख्या बढी छ । जसमा सिमेन्ट र स्टिल उद्योगको संख्या बढी छ । नेपालमा बैंकबाट सबैभन्दा बढी ऋण लिने कम्पनीमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेल रहेको छ । एनसेलले २७ अर्ब रुपैयाँ ऋणको लागि रेटिङ गराएको थियो । एनसेलमा ८० प्रतिशत लगानी मलेसियाको आजयिटा कम्पनीको छ भने २० प्रतिशत सेयर लगानी नेपाली लगानीकर्ताको छ ।

एनसेलपछि दोस्रोमा ऋण बढी हुने कम्पनीमा जगदम्बा इन्टरप्राइजेज कम्पनी रहेको छ । स्टिल उत्पादक कम्पनी जगदम्बा इन्टरप्राइजेजले १५ अर्ब २९ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ ।

तेस्रो बढी ऋण हुने कम्पनीमा सौर्य सिमेन्ट रहेको छ । सौर्य सिमेन्टमा शंकर ग्रुप, अम्बे र सिके गोल्छा समूहको लगानी रहेको छ । उदयपुरमा रहेको सौर्य सिमेन्ट गत वर्षदेखि सिमेन्ट उत्पादन शुरु गरेको छ । ठूलो सिमेन्ट उद्योगमा पर्ने सौर्य सिमेन्टले १४ अर्ब १४ करोड ऋणको लागि रेटिङ गराएको छ ।

त्रिवेणी ग्रुपको लगानी रहेको १२ अर्ब ७१ करोड रुपैयाँको लागि रेटिङ गराएको छ । घोराई सिमेन्टले १२ अर्ब ७१ करोड रुपैयाँको लागि रेटिङ गराएको छ ।

भारतीय लगानी रहेको आरती स्ट्रिपले ११ अर्ब ७७ करोड ऋणको लागि रेटिङ गराएको छ । बिराटनगरमा रहेको आरती स्ट्रिपले जस्तपाता स्टिल उत्पादन गर्छ ।

यस्तै ५ अर्बभन्दा बढी ऋण हुने सिमेन्ट कम्पनीमा सम्राट ९ अर्ब ६७ करोड रहेको छ । सम्राटमा ३० प्रतिशत सेयर चौधरी ग्रुपले लिने सम्झौता भएको छ । यद्यपी अहिलेसम्म सेयर नामसारी प्रक्रिया पुरा भएको छैन ।

यस्तै आइपीओ ल्याउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले ६ अर्ब ३५ करोड रुपैयाँको ऋणको लागि रेटिङ गराएको छ । सर्वोत्तम सिमेन्ट व्यवसायिक घराना सौरभ ग्रुप अन्तर्गतको कम्पनी हो ।

यस्तै अर्घाखाँची सिमेन्टले ७ अर्ब ३३ करोड ऋणको लागि रेटिङ गराएको छ । अर्घाखाँचीमा मुरारका समुह, सिद्धार्थ ग्रुप, केडिया र भारतीय लगानीकर्ताको लगानी छ ।

यस्तै मारुती सिमेन्टले ६ अर्ब १६ करोडको लागि रेटिङ गराएको छ । जसमा राठी ग्रुप तथा गोयलहरुको लगानी छ ।

गाडी र मोटरसाइकल कम्पनीका बिक्रेता कम्पनीहरुमा सबैभन्दा बढी ऋण रहेको कम्पनी होण्डा मोटरसाइकलका स्याकार ट्रेडिङ हो । स्याकारले ९ अर्ब रुपैयाँ ऋणको लागि रेटिङ गरेको छ । स्याकार ज्योति ग्रुप अन्तर्गतको पद्म ज्योति र उनका छोराहरुको कम्पनी हो ।
यस्तै बजाज मोटरसाइकलको बिक्रेता हंशराज एण्ड हुलासचन्द्रले ६ अर्ब ४९ करोड रुपैयाँको लागि रेटिङ गराएको छ । हंशराज एण्ड हुलासचन्द्र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको कम्पनी हो ।
महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इन्कप्रोरेटले ६ अर्ब ६३ करोड रुपैयाँको लागि रेटिङ गराएको छ । यो कम्पनीको स्वामित्व क्याबिनेट श्रेष्ठ र उनको परिवारको नाममा छ ।

यस्तै बहुराष्ट्रिय कम्पनी डाबरको ६ अर्ब तथा सुर्य नेपाल प्रालिको ऋण ५ अर्ब ७५ करोड छ ।

सामसङ मोबाइलको बिक्रेता आइएमएस प्रालिको ५ अर्ब रुपैयाँ ऋणको रेटिङ भएको छ । आइएमएस दीपक मलहोत्राको कम्पनी हो । महहोत्रा चेम्बर अफ कमर्शमा उपाध्यक्ष छन् ।

यस्तै विशाल ग्रुप अन्तर्गतको ट्रेडिङ कम्पनी यूनाइटेड डिस्टिब्युटर्सले पनि ७ अर्ब १२ करोड रुपैयाँको रेटिङ गराएको छ । धागो उद्योग रिलायन्स स्पिनिङ मिल्सको ६ अर्ब ७ करोड रुपैयाँको रेटिङ छ ।


आशीष ज्ञवाली