६ प्रकारका व्यवसायलाई ठूला र मध्यमस्तरीय करदाताबाट हटाइयो, नयाँ थ्रेसहोल्ड लागू



काठमाडौं । व्यापारको मुनाफामा निश्चित प्रतिशत कमिसन तोकिएका र एजेन्सी शैलीको व्यवसाय गर्ने ६ प्रकारका करदातालाई ठूला र मध्यमस्तरीय करदाताको सूचीबाट हटाइएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार सुन–चाँदीलगायत बहुमूल्य धातुको कारोबार गर्ने क्षेत्र, पेट्रोलियम पदार्थ, चुरोटको डिलर, टेलिफोनको रिचार्ज कार्ड, अटोमोबाइल्सको स्थानीय बिक्रेता र ग्यास उद्योगलाई ठूला र मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रबाट हटाएर आन्तरिक राजस्व कार्यालय (आईआरओ) को कार्यक्षेत्रमा राखेको हो ।

एजेन्सी प्रकृतिका र निश्चित प्रतिशत कमिसन पाउने यी ६ वटा व्यवसायका कर सम्बन्धी फाइल अब आन्तरिक राजस्व कार्यालयबाटै हेरिने विभागका सूचना अधिकारी अर्जुन ढकालले क्लिकमाण्डुलाई बताए ।

‘नयाँ आर्थिक वर्षसँगै यस्ता व्यवसायका सबै फाइल तल गइसकेका छन् । उनीहरुको निश्चित प्रतिशत कमिसन तोकिएको हुनाले तलबाटै फछ्र्यौट गर्न सकिन्छ । उनीहरुलाई ठूला र मध्यमस्तरीय करदाताका लागि लाग्ने कारोबार रकमको थ्रेसहोल्ड पनि लाग्दैन,’ ढकालले भने ।

विगतमा यस्ता कम्पनीलाई पनि कारोबार रकममा आधारमा मध्यमस्तरीय र ठूला करदाता कार्यालयलेसमेत हेर्ने गथ्र्यौ । तर अब उनीहरुको व्यवसायको प्रकृति हेरेर आन्तरिक राजस्व कार्यालय (साना करदाता कार्यालय) ले नै हेर्ने गरी नीति कार्यान्वयन गरिएको हो ।

त्यस्तै, विभागले ठूला र मध्यमस्तरीय करदाता कार्यालयमा कार्यबोझ बढेको भन्दै करदाताको थ्रेसहोल्डसमेत परिवर्तन गरेको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै थ्रेसहोल्ड हेरफेर गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार अब १ अर्बभन्दा माथिको कारोबार गर्ने करदाताहरुमात्र ठूला करदाता कार्यालयअन्तर्गत पर्नेछन् । यसअघि ठूला करदाता कार्यालयले ८० करोड भन्दा माथिको कारोबार भएका कम्पनीका फाइल हेथ्र्यो ।

त्यस्तै, मध्यमस्तरीय करदाता कार्यालयअन्तर्गतका कार्यालयको कारोबार सीमा वार्षिक ४० करोड देखि ८० करोड रुपैयाँ सम्म रहेकोमा त्यसलाई संशोधन गरी वार्षिक ५० करोडदेखि ९९ करोड बनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्रभित्र ५० करोड रुपैयाँसम्मको कारोबार सीमा तोकिएको छ । अयअघि राजस्व कार्यालयले ४० करोड रुपैयाँसम्मको कारोबार मात्रै हेर्ने गथ्र्यो ।

अहिले विभागले एउटा ठूलो करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी ८४ वटा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

अर्थ मन्त्रालयले तोकेका करदाताको वार्षिक कारोबारका आधारमा ठूला र मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र देशभरी रहन्छ ।


क्लिकमान्डु