तपाईं खुसी हुने हो भने अरुलाई खुसी बनाउनुहोस्ः बुद्धि मल्लको लेख




भनिन्छ, सेवा नै धर्म हो । संसारमा साथीभाइलाई सेवा गर्नुभन्दा ठूलो काम अरु कुनै पनि छैन । आफूभन्दा कमजोरलाई सहयोग गर्नुभन्दा ठूलो योगदान अरु कुनै छैन । यी दुवै कार्य राम्रोसँग गरेर पाइने सन्तुष्टिभन्दा ठूलो सन्तुष्टि अरु कुनै छैन ।

दलाई लामाले भनेका छन्- हाम्रो जिन्दगीको मूख्य उद्देश्य अरुलाई सहयोग गर्नु हो । यदि कसैले सहयोग गर्न सक्दैन भने पनि अरुलाई दुःख दिन र असहयोग गर्नु भने हुँदैन । त्यसैगरि ख्यातिप्राप्त अन्तराष्ट्रिय मोटिभेसनल स्पिकर जिग जिग्लारले भनेका छन्- यदि तिमीले अरुलाई उसले चाहेको कुरा प्राप्त मद्दत गर्छाै भने तिमीले जिन्दगीमा चाहेको सबै कुरा पाउन सक्छौं ।

दलाई लामा र जिग जिग्लार दुबैको भनाईबाट मानिसले अरुलाई सहयोग गर्नुपर्छ । मानविय नाताले अरुलाई सहयोग गर्नु उसको कर्तब्य हो र मानिस सफल हुनको लागि अरुलाई सहयोग गर्नु आवश्यक हुन्छ । अरुलाई सहयोग नगर्ने मानिस सफल हुन सक्दैनन् भन्न खोजेका छन् ।

एकजना भलादमी मानिस बेकरी सपमा कफी पिउँदै थियो त्यतिकैमा एकजना झुत्रो कपडा लगाएको गरिब मानिस उसको ५ बर्षकी छोरीसंग एकदमै खुसी हुँदै आईरहेको देख्छ । त्यस मानिस आफूले झुत्रो अनि मैलो कपडा लगाएको भएतापनि छोरीलाई भने नया अनि सफा लुगा लगाईदिएको थियो । वेटर आएपछि मानिसले छोरीको लागि एउटा केक अर्डर गर्छन् ।

वेटरले तपाईंको लागि के ल्याऊँ भनेर सोध्दा मानिसले हामीजस्तो गरिबले यस्तो महंगो ठाँउमा कहाँ खान सक्छौं सर ? मेरो यो छोरी पढाइमा एकदमै अब्बल छे । मैले उसलाई प्रथम भयौ भने केक खुवाउँछु भनेर बाचा गरेको थिएँ । ऊ प्रथम भई त्यसैले केक खुवाउन ल्याएको । मेरो लागि त घरमा खिचडी पाकिरहेको छ । घर गएर त्यही खान्छु ।

गरिब मानिसको सबै कुरा सुनिरहेको भलादमी मानिसलाई ऊ प्रति माया लागेर आउँछ । र, काउन्टरमा गएर २ वटा केकको पैसा दिएर छोरी प्रथम भएको उपलक्ष्यमा बेकरी शपको तर्फबाट उपहार भनेर दिन आग्रह गर्छन् । वेटरले अर्का पनि केक ल्याएर बेकरीको तर्फबाट उपहार भनेपछि गरिब मानिसले धन्यवाद भन्दै वेटरसँग आग्रह गर्छन्- के यो केक म घर लगेर खान सक्छु ? मेरो श्रीमतीले केक एकदमै मन पराउँछिन् ।

बर्षाैंदेखि उसलाई केक खुवाउन मन लागिरहेको थियो । तर, पैसाको अभावले खुवाउन सकिरहेको थिइन । घर लैजान पाए उ र म आधा आधा खान हुन्थ्यो । मानिसको यस्तो कुरा सुनेपछि बेकरीवाला, भलादमी मानिस सबैको आँखाबाट आँसु खस्छ । र, बेकरीवालाले उसको श्रीमतीको लागि पनि एउटा थप केक दिन्छन् ।

भलादमी मानिस एक सफल मानिस थिए । तर, गरिब मानिसको लागि २ वटा केकको पैसा तिरिदिँदा उसलाई मनैदेखि छुट्टै प्रकारको आनन्दको अनुभूति भएर आउँछ । जुन २० औं बर्षदेखि चाखिरहेको सफलताको स्वाद भन्दा भिन्नै र एकदमै राम्रो थियो, उनलाई मनैदेखि खुसी लागिरहेको थियो ।

बेकरीका मालिकले पनि प्रत्येक बर्ष व्यापारमा प्रगति गरिहेको थियो । तर, गरिब मानिसको श्रीमतीको लागि एउटा केक दिएपछि उसले जुन आनन्दको महसशुस भएको थियो, त्यो उसले आजसम्मै पाएको ब्यापारको सफलताभन्दा निकै माथिल्लो स्तरको लागिरहेको थियो । संसारमा मानिसलाई यस्तो प्रकारको आनन्द पाउने अवसर आइरहन्छ । तर, कमै मानिसले मात्र यसबारे सोच्ने भएकोले यसको आनन्दबाट धेरै मानिसहरु बञ्चित हुन्छन् ।

एउटा दियोले आफू जलेर भएपनि आफू वरपर उज्यालो दिन्छ । र, उ आफैं पनि चम्किरहेको हुन्छ । चम्कनुको अर्थ खुसी हुनु र उज्यालो दिनुको अर्थ अरुलाई पनि खुसी बाँढ्नु हो । कुनै पनि मानिसले अरुलाई खुसी नबाढीकन खुसी रहन सक्दैनन् । त्यसैले त सफल मानिसहरुले अरुको हितको लागि विभिन्न कार्यहरु गर्दै आइरहेका देखिन्छन् । तिनीहरु आफूले कमाएको सम्पत्ति दान गरेर खुसी बाढने कोशिस गरिरहेको देखिन्छन् ।

दक्षिण भारतका सुपरस्टार चिरञ्जिवी अभिनित २००६ मा रिलिज भएको फिल्म स्टालिनमा फिल्मका हिरोले मानिसहरुलाई सहयोग गर्दै हिँड्छन् । सहयोग पाएपछि मानिसहरुले उनलाई धन्यवाद भन्छन् । नायकले धन्यवादको साटो उनले पनि आवश्यक अन्य ३ जना मानिसलाई सहयोग गर्न र सहयोग गरेको मानिसहरुलाई पनि अन्य ३ जनालाई सहयोग गर्नु भनेर अनुरोध गर्छन् । यसरी सहयोग पाउने एकजना मानिसले ३ जना र त्यसपछि ३ जनाले ९ जनालाई सहयोग गर्दा सहयोगी हात बढ्न जान्छ । त्यसो गर्दा संसारमा खुसी बढ्ने फिल्मको सन्देश रहेको छ ।

मानिसले कसैलाई रुवाएर आफू हास्न सक्दैन । र, यो विधिको एउटा रहस्यमय विज्ञान हो र यसलाई धेरै मानिसहरुले बुझ्न सक्दैनन् । त्यसैले नै होला, कसैको प्रगतिमा ताली बजाउने हात त हजारौ भेटिन्छन् । तर, कसैको दुःखको आसुु पुछ्ने हातको संधै अभाव नै हुन्छ । तर, जुन हात अरुको आसु पुछ्न अग्रसर हुन्छन्, त्यो हात अमूल्य हुन्छ । र, त्यस्ता मानिसलाई अन्य मानिसको हजारौं हातहरुले सलाम गर्छन् ।

मानिसले एकले अर्काेलाई ख्याल गर्न सक्ने भएकोले नै सर्वश्रेष्ठ प्राणी भएको हो । यदि कुनै मानिसले देख्दा देख्दै, जान्दाजान्दै आवश्यक परेको ब्यक्तिलाई आफूले सक्ने सहयोग गर्दैन भने उ सर्वश्रेष्ठ प्राणी भएको महत्वहिन हुन्छ । हृदयमा अरुप्रति मायाँ नहुने मानिस बिनाफूलको बगैंचाजस्तै हुन्छ भने अरुप्रति माया हुने मानिस भने सँधै हराभरा, सुगन्धित फूलहरुको बगैंचाजस्तै सुन्दर हुन्छ ।

एउटा माटोको भाँडाको महत्व बनाउने मानिसलाई थाहा हुन्छ । फूटाउने मानिसलाई यसको महत्व थाहा हुँंदैन किनभने फूटाउने मानिसले उक्त सामान बनाउनको लागि भाँडा बनाउने मानिसले कति मेहनत गरेको छ भन्ने महशुस गर्ने कोशिस गरेको भए उक्त भाँडाको महत्व बुझ्न सक्छ ।

एउटा मानिसले अर्काे मानिसको समस्या बुझ्न सक्छ । र, त्यसको लागि उनको समस्या, पिडालाई महशुस गर्ने कोशिस गर्नुपर्छ । मानिस खुसी हुन अरुलाई खुसी पार्ने प्रयास गर्नुपर्छ । अरुलाई सहयोग गरेर पाउने सन्तुष्टि भन्दा ठूलो सन्तुष्टि अरु कुनै हुँदैन । (लेखक मल्ल बैंकर हुन्)


क्लिकमान्डु