सर्वोत्तम सिमेन्टले असोजभित्रै बुक बिल्डिङमार्फत् आइपीओ जारी गर्ने



काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासभित्रमा बुक बिल्डिङ प्रणालीमार्फत् सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ प्रणालीमार्फत् ६० लाख कित्ता सर्वसाधारणलाई सेयर बेच्न लागेको हो ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सेयर बिक्री गरिने जानकारी दिए ।

‘हाम्रो तयारी गत वर्षको चौथो त्रैमाससम्म आइपीओ ल्याउने तयारी थियो, कोभिडको दोस्रो लहर तथा नियमावलीका कतिपय प्रावधानले सम्भव भएन,’ न्यौपानले क्लिकमाण्डूसँग भने ।

सर्वोत्तमले साउन २० गतेभित्रमा धितोपत्र बोर्डमा सेयर निष्कासनका लागि आवेदन दिने जनाएको छ ।

प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी भएको एक आर्थिक वर्षपछि मात्र सेयर निष्कासन गर्न पाउने व्यवस्था संसोधन नभएको हुँदा गत आर्थिक वर्षमा सर्वोत्तमलाई आइपीओ निष्कासन गर्न प्राविधिक रुपमा कठिनाई भएको थियो ।

नियमावलीको व्यवस्था संसोधन हुने कुरा भएपनि बैशाखदेखि फैलिएको कोरोनाको दोस्रो लहरले गर्दा नियमावली परिवर्तन भने भएन ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ जारी गर्ने लागेको हो । बुक विल्डिङ विधिमार्फत् आईपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिनेछ ।

तर, बिक्री मूल्यको तल्लो सीमा त्यसको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ ।

जारी गरिने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीका अध्यक्ष न्यौपानेले गतवर्ष करिब ९ अर्ब ६० करोड रुपैयाँको बिक्री कम्पनीले गरेको जानकारी दिए । कम्पनीले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब २५ करोड करोड हाराहारीमा गरेको छ । लेखापरिक्षण हुँदा भने यो रकम फरक पर्छ ।

अहिले नेप्सेमा शिवम् सिमेन्टमात्र सूचिकृत छ । बुक बिल्डिङ मार्फत सर्वसाधारणलाई सेयर जारी गर्ने पहिलो कम्पनी सर्वोत्तम बन्ने छ ।

सर्बोत्तम सिमेन्ट सौरभ ग्रुपको उत्पादन हो । यो ग्रुपले स्टील तथा डण्डी उद्योगमा ३ अर्ब २७ करोड रुपैयाँ लगानी थप्ने भएको छ । सर्वोत्तम ब्राण्डमा नयाँ डन्डी बजारमा ल्याउन लागेको हो ।


क्लिकमान्डु