आगामी माघसम्म मूल्यवृद्धि १०% पुग्नसक्छ: राष्ट्र बैंक अध्ययन



काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना अवधिमा मूल्यवृद्धि १० प्रतिशतसम्म पुग्ने देखिएको छ ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’को नतिजाअनुसार आगामी माघ महिनासम्ममा औसत मुद्रास्फीति दर सरकारले राखेको बाञ्छित सीमाभन्दा निकै बढी हुने देखिएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत् वार्षिक मुद्रास्फितिदर साढे ६ प्रतिशतभन्दा कमको सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि विभिन्न वित्तीय नीति र मौद्रिक उपकरणहरु प्रयोग गर्दै आएको छ ।

त्यस्तै, राष्ट्र बैंकले पनि मुद्रास्फीति दरलाई प्राथमिकतामा राखेर मौद्रिक नीतिको कार्यदिशा सार्वजनिक गर्दै आएको छ ।

यो अध्ययनका लागि राष्ट्र बैंकले उपभोक्ता सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा राष्ट्र बैंकले सातवटै प्रदेशका प्रमुख सहरमा बसोबार गर्ने ४८२ जना व्यक्तिसँग प्रत्यक्ष अन्तरवार्ता गरेको जनाएको छ ।

यसरी सर्वेक्षणमा सहभागी उपभोक्ताको मुद्रास्फीतिसम्बन्धी अपेक्षाका आधारमा राष्ट्र बैंकले प्रतिवेदन तयार पारेको हो ।

सर्वेक्षणमा सहभागीहरु अधिकांश उपभोक्ताले मूल्यवृद्धि अहिलेको तुलनामा अझै बढ्ने अनुमान गरेका छन् । तीन महिनामा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ८६.९ प्रतिशत र आगामी १ वर्षमा मूल्य बढुने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

अध्ययनअनुसार २०७७ माघमा औसत ८.७ प्रतिशत रहेको मूल्यवृद्धि १ वर्ष अवधिमा १.३ प्रतिशत बिन्दुले बढेर १० प्रतिशत पुग्ने अनुमान छ ।


क्लिकमान्डु