अर्थमन्त्रीलाई बुढीगण्डकी प्रभावितले सोधे- कहिले बन्छ आयोजना ?



काठमाडौं । बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन माग गर्दै आयोजना प्रभावित क्षेत्र र गोरखा तथा धादिङका बासिन्दाले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् ।

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हरिराज अधिकारीको नेतृत्वमा अर्थमन्त्री शर्मालाई भेट्न गएको टोलीले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना यही सरकारले प्राथमिकताका साथ अगाडि बढाउन पनि माग राखेको छ ।

‘बुढीगण्डकी बन्छ भन्ने आशा छैन । बने अहिल्यै बन्छ । नत्र कहिल्यै बन्दैन,’ सांसद अधिकारीले भने, ‘तपाईं पहिले उर्जा मन्त्री पनि भइसकेकाले आयोजनाबारे अझ चाँडो बुझ्नुहुन्छ ।’

आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा निर्धारण गर्दा ह्रासकट्टी गरेर दिँदा समस्या भएको र पुनर्बासका काम छिटो छरितो गरी सञ्चालन हुन नसकेको बारे पनि उनीहरुले अर्थमन्त्री शर्मासँग गुनासो गरेका छन् ।

गोरखा र धादिङ जिल्लाका जनप्रतिनिधिसमेत रहेको डेलिगेसन टोलीले आयोजना कहिले र कसरी बन्छ भन्दै अर्थमन्त्रीलाई शर्मालाई प्रश्नसमेत गरेका थिए ।

अर्थमन्त्री शर्माले भने आयोजनाको अवस्था बारे बुझेर मात्रै जानकारी दिने बताए ।

‘मैले नबुझेर यसै भन्न मिल्दैन । के कारणले रोकिएको हो ? मसस्या कहाँ छन् ? कसरी अगाडि बढ्छ जस्ता विषयमा १५ दिनपछि भन्छु,’ अर्थमन्त्री शर्माले भने ।


क्लिकमान्डु