लगानीकर्ता बैंकतर्फ आकर्षित हुँदा ९७ अंकले बढ्यो नेप्से



काठमाडौं । आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा एतिहासिक रेकर्ड कायम गरेको सेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ ।

पुनर्स्थापित संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै गर्दा सेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत गरेको देखिएको छ । आइतबारको कारोबारमा नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । यो दिन २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ रुपैयाँ ६२ पैसामा कारोबार भएको छ ।

यो दिन १९४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै २२ वटा कम्पनीको सेयर मूल्य घट्दा ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ विकास बैंक ५.०५ प्रतिशत र वाणिज्य बैंक ४.७१ प्रतिशतले बढेको छ भने जीवन बीमा कम्पनी ३.८० प्रतिशत, माइक्रोफाइनान्स ३.५९ प्रतिशत र म्यूचुअल फण्ड ३.३४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नगादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु