के भारतमा कोरोनाको तेस्रो लहर आउँदैछ ? नेपालमा के होला ?



एजेन्सी । पछिल्ला केही दिनदेखि कोरोनाको तेस्रो लहर आउने चेतावनी सार्वजनिक भएको छ । विशेष गरी छिमेकी देश भारतमा सबैभन्दा ठूलो चेतावनी त्यसैको दिइएको छ ।

लापरवाही बढेको अवस्थामा तेस्रो वेभको चेतावनी दिइएको हो । भारत सरकारले नै कोभिड–१९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ ।

भारतीय सरकारी पक्षले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने चेतावनी दिएपछि त्यसको प्रभाव नेपाल, बंगलादेशमा स्वतः नै पर्ने देखिएको छ । त्यहाँको सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।

भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चेतावानी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको छ र त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताए ।

उनले भनेका छन्, ‘हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेनौं भने यसले हामीलाई ठूलो क्षति दिन सक्ने छ ।’

हालै विश्व स्वास्थ्य संगठनले कोभिड १९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।
विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।

दोस्रो लहर पनि भारतबाटै नेपालमा विस्तार भएकाले पनि तेस्रो लहरले नेपालमा समेत प्रभावमा पार्ने देखिन्छ ।


क्लिकमान्डु