विद्यार्थी संगठनको आन्दोलनपछि एक रुपैयाँले घट्यो पेटोलियम पदार्थको मूल्य



काठमाडौ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य एक रुपैयाँले घटाएको छ । संयुक्त विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउन विभिन्न चरणमा आन्दोलन गरेपछि निगमले मूल्य घटाएको हो ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार मूल्य समायोजन गर्दै जाँदा पेटोलियम पदार्थको मूल्य वृद्धि भएको निगमले जानकारी दिएको छ । तर उक्त मूल्य वृद्धि फिर्ता गरिनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरु मागलाई सम्बोधनगरी असार ३० गते राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पेटोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजबादी विद्यार्थी युनियन, अखिल (छैठौं) ले निरन्तर आन्दोलन गरिरहेका थिए । उनीहरुको मागको सम्बन्धमा निरन्तरको छलफल र संवादबाट उक्त मागलाई मध्यनजरगरी निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा १ रुपैयाँले घटाएको जनाएको छ । निगमको सो निर्णय पश्चात विद्यार्थी संगठनहरुले पनि आन्दोलन फिर्ता लिने निगमले विश्वास लिएको छ ।

सो अनुसार काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र)को लागि नयाँ खुद्रा बिक्रि मूल्य पेट्रोलको १२८ रुपैयाँ तथा डिजल/मट्टितेल १११ रुपैयाँ प्रति लिटर कायम गरिएको निगमले जानकारी दिएको छ ।


क्लिकमान्डु