नक्कली भ्याटबिल बनाउने ३ जनाविरुद्ध करिब ६७ करोडको मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याटबिल बनाउने ३ जना विरुद्ध करिब ६७ करोड रुपैयाँ बराबर राजस्व छलीको मुद्दा दायर गरेको छ ।
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी राजस्व छलि गर्ने सर्लाही ब्रम्हपुरी ७ स्थित मनिराज सप्लायर्सका संचालक राज देवी तथा तथा उक्त फर्मको मुख्य कारोबार गर्ने राजाराम महतो विरुद्ध ४१ करोड ५१ लाख ३१ हजार ८५४ रुपैयाँ बराबर बिगो माग गर्दै विभागले बुधबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
त्यस्तै, रौतहट जिल्ला तेजपाकड ५ का शिव ट्रेडर्स का संचालक तथा अल्का सप्लायर्सका मुख्य कारोबारी ओमप्रकाश सिंह भुमिहार विरुद्ध २५ करोड ३५ लाख ४१ हजार ५८४ रुपैयाँ बराबर बिगो असुल र जरिवाना माग गरी मुद्दा दर्ता गरिएको छ।
मनिराज सप्लायर्सका संचालक राज देवी तथा उक्त फर्मको मुख्य कारोबार गर्ने राजाराम महतो र शिव ट्रेडर्स तथा अल्का सप्लायर्स संचालक ओमप्रकाश सिंह भुमिहारले मालबस्तु खरिद तथा आयात नगरी झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई बिक्री बीजक मात्र जारी गरेको विभागले दायर गरेको मुद्दाको विवरणमा उल्लेख छ ।
ती फर्महरूले बिक्री रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला समेत गरेका थिएनन् ।