अर्थमन्त्री शर्माले कर्मचारीलाई भने- अनुहार, जात र झण्डा हेर्दिन, मिलेर काम गरौं



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मुलुक गम्भीर स्वास्थ्य र आर्थिक संकटको बेला आफू मन्त्रालयको जिम्मेवारीमा आइपुगेको र चुनौतीका चाङबीचको आफ्नो कार्यकाल सफल बनाउन कर्मचारीको सहयोगी भूमिकाको अपेक्षा आफूले राखेको बताएका छन् ।

बुधबार अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै शर्माले आफ्नो इच्छाशक्ति र क्षमताले भ्याएसम्म आफूले काम गर्ने र कर्मचारीबाट पनि उत्कृष्ट कार्यसम्पादनको अपेक्षा राखेको बताएका हुन् ।

‘तपाईंहरुले गर्ने कामलाई अनुमोदन गर्ने, निर्देशन गर्ने र सहयोग गर्ने गरी म आएको छु । मलाई अनुहार चाहिन्न । जात पनि चाहिन्न र कुनै झण्डा पनि चाहिन्न । मलाई काम चाहिन्छ,’ शर्माले भने, ‘आफ्नो क्षेत्रमा पाएको जिम्मेवारी र कामलाई कसरी अगााडि बढाउने कसरी प्रभावकारी बनाउने, कसरी पारदर्शी बनाउने र जनताका लागि केहि न केहि योगदान कसरी गर्ने भन्ने मेरो प्रतिवद्धता छ । यो मेरो मात्र नभएर हामी सबैको प्रतिवद्धता हुनुपर्छ ।’
महामारीको संकट एकातिर हुँदा गरिबीमा रहेका जनता, बेरोजगारी, विकास निर्माण र व्यापार व्यवसायमा आएको संकटमा मल्हम लगाउन साझा पहल गरिनुपर्ने उनको भनाइ छ ।

आर्थिक सबलीकरण, अर्थतन्त्रलाई पुनरुत्थान र पुनर्जीवित गर्नका लागि मागचित्र तयार पार्न र आर्थिक विकासका क्षेत्रका आयोजनाहरुको प्राथमिकिकरण गर्न पनि कर्मचारीलाई अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् ।

त्यस्तै बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि छुट्टै सुधार कार्यक्रम ल्याउनु आवस्यक रहेकाले त्यसको तयारी गर्न पनि उनले निर्देशन दिएका छन् ।

‘व्यापार घाटा कम गर्न छुट्टै सुधार कार्यक्रम ल्याउन जरुरी छ । सबै राजनीतिक दल र सबै नागरिकको साझा संकल्पबाट मात्र यो सम्भव छ । यो विशेष सुधार अभियान सफल पार्नका लागि म सबै पक्षसँग आग्रह गर्न चाहन्छु, अर्थमन्त्री शर्माले भने ।


क्लिकमान्डु