प्रधानमन्त्रीको शपथमै किचलो, शपथ अघि नै प्रधानमन्त्री कार्यालयको वेवसाइटमा राखियो देउवाको नाम र तस्बिर



काठमाडौं । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले अझै शपथ लिएका छैनन् ।

सर्वोच्चले सोमबार परमादेश जारी गरेसँगै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त हुनुपर्ने थियो । जस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा देउवालाई नियुक्त गरेकी थिइन् ।

तर राष्ट्रपति कार्यालयले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको पत्रमा संविधानको कुनै पनि धारा उल्लेख नभएकाले शपथ निर्धारित समयमै हुन सकेन् ।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइटमा भने केपी शर्मा ओलीको नाम र तस्बिर हटाएर शेरबहादुर देउवाको नाम र तस्बिर राखिएको छ ।

देउवाले राष्ट्रपतिले गरेको नियुक्तीको बेहोरा नसच्चिएसम्म शपथ नलिने अडान राखेका कारण शपथ कार्यक्रम केही समय ढिला भएको थियो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको थियो, ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ गतेको फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेसका संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’

तर देउवाले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा कुनै पनि धारा प्रयोग नगरिएको भन्दै नियुक्त नसच्चाएसम्म शपथ नलिने अडानका कारण मंगलबार साँझ ६ बजे हुने भनिएको शपथ कार्यक्रम रोकिएको थियो ।


क्लिकमान्डु