मलाई जनताले हटाएको होइनः केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलालाई शक्ति पृथकीकरणको सिद्धान्त खलबलाएको बताएका छन् ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरेपछि सम्बोधन गर्दै उनले जनताको आदेशबाट नभई सर्वोच्चको परमादेशबाट आफू पदबाट हट्नुपरेको दुखेसो गरे ।
उनले माग गर्दै नगरेको विषयमा समेत सर्वोच्च अदालतले अधिक न्यायिक सक्रियता देखाएको समेत आरोप लगाउन भ्याए । माग दावी नगरेको विषयमा समेत अदालत बढी सक्रिय भएको उनको जिकिर छ ।
उनले आफना लागि लोकतन्त्र जिवीकाको विषय नभई जीवन भएको दावी गरे । उनले अदालतमा दर्ता भएको रिटको खास प्रश्नमा कस्तो फैसला आउँदैछ भन्ने विषय हप्तौ अगाडि पाउने जानकारी पाउने अवस्था रहेको भन्दै उनले गुनासो गरे ।
उनले आफूले जनताको विश्वासमा ह्रास हुने वा गुम्ने अवस्था सिर्जना हुन नदिएको दावी गरे ।
उनले भने, ‘अदालतको फैसलाका कारण आफू सरकारबाट बाहिरिन परेको भनेर प्रश्न उठाएको होइन । कहिलेकाही जनताको अपेक्षा र संसदीय अंकगणितमा विरोधाभाष पैदा हुन्छ ।’
उनले आफू आज जनताको जनादेशले होइन, सर्वोच्चको परमादेशले आफूले सरकारको जिम्मेवारी छाड्नुपरेको बताए ।
उनले देश र जनताप्रति निष्ठा र इमान्दारीका साथ काम गरेको जिकिर गरे । ओलीले विकासका निम्ति नयाँ भिजन दिएको समेत तर्क गरे । उनले चौतर्फी ढंगले विकास र परिवर्तनको अनुभूत गरेको समेत उल्लेख गरे । उनले आफूले ल्याएको खोप देखाएर भोलिदेखि प्रचार शुरु हुने समेत बताए ।
उनले विकास निर्माणको काममा आफूले असाध्यै धेरै काम गरेको जिकिर गरे । दबावमा उद्घाटन गर्न लगाइएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना समेत उद्घाटन गरेको दावी गरे ।
दुई–दुई पटक संसद विघटन गरेका ओलीले संसदको बाँकी कार्यकाल भने पूरा समय बित्ला भन्दै प्रश्न गर्न समेत भ्याए ।
उनले पटक पटक आफूलाई सरकारबाट हटाइएको भन्दै निर्वाचनमा जान अन्य दल डराएको जिकिर गरे । उनले अदालतबाट भइरहेको प्रधानमन्त्री हटाएर प्रधानमन्त्री तोकिएको भन्दै पटक पटक सर्वोच्चको सोमबारको फैसलाप्रति असन्तुस्टि व्यक्त गरे ।
उनले सरकारको नियमित रुपमा हुने काम कारवाहीलाई समेत आफैले गरेको भन्दै आत्मतुष्टि लिने प्रयास समेत गरे । असंवैधानिक गतिविधि र क्रियाकलापलाई ढाँकछोप गर्न ओलीले पटक पटक विकास निर्माण गरेको, देशलाई सुरुङ युगमा प्रवेश गराएको, तुइन विस्थापित गरेको समेत भन्न भ्याए ।
उनले आफुहरु प्रतिपक्षमा पनि लामो समय बस्नु नपर्ने दावी गर्दै डेढ वर्षमा पुनः सत्तामा आउने जिकिर समेत गरे ।