एनबि बैंकबाट ४०.९% संस्थापक सेयर बिक्री गरी बंगलादेशको आइएफआईसी बैंक बाहिरिँदै
काठमाडौं । नेपाल बंगलादेश बैंकबाट बंगलादेशको आइएफआईसी बैंक बाहिरिने भएको छ । नेपाल बंगलादेश बैंकमा रहेको सस्थापक सेयर आइएफआईसी बैंकले बिक्री गरी बाहिरिन लागेको हो ।
‘बैंकमा स्थानीय प्रमोटरहरु नै हुँदा मर्जरका लागि सहज हुने हुँदा बंगलादेशको आइएफआईसी बैंकले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो, सेयर बिक्री भइसकेपछि मर्जरको प्रक्रिया अगाडि बढाउन सजिलो हुन्छ,’ एनबीबी बैंकका एक सञ्चालकले भने ।
आइएफआईसी बैंकले स्वामित्वमा रहेको सेयर मूल्यमा सम्झौता नगर्ने भएकाले मर्जरभन्दा अघि नै बजार मूल्यको ५० प्रतिशतभन्दा कममा सेयर बिक्री बोलकबोलमार्फत् बिक्री गर्न लागेको उनले जानकारी दिए ।
आइएफआईसी बैंकले आफ्नो सम्पूर्ण ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा कुनै बोनस सेयर प्राप्त भएमा सो समेत संस्थापक सेयरहरु बिक्री गर्नका लागि यस बैंकमा आवेदन दिएकाले नेपाल राष्ट्र बैंकको निर्देशन, यस बैंकको प्रबन्धपत्र तथा नियमावली र आइएफआईसी बैंकसँग रहेको संस्थापक सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान अन्य संस्थापक सेयरधनीहरुको हुने भएकाले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही उपरोक्त सेयरहरु बिक्री गर्न लागेको हो ।
इच्छुक संस्थापक सेयरधनीहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिनुपर्नेछ । उपरोक्त म्यादभित्र कसैको निवेदन प्राप्त नभएमा पर्याप्त निवेदन प्राप्त नभएमा वा प्राप्त निवदेनहरु उक्त व्यवस्था बमोजम फिट एण्ड प्रोपर टेस्टबाट अयोग्य देखिएमा वा प्राप्त विवरण पूर्ण नभइ फिट एण्ट प्रोपर टेस्ट गर्न नसकिएमा नियमनुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त सेयरहरु बिक्री गरिनेछ ।