गतवर्ष १३ अर्ब नाफा गरेको आयल निगम यो वर्ष ४ अर्ब रुपैयाँले घाटामा जाने
काठमाडौं । काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमले चालु आर्थिक वर्षका ४ अर्बको घाटा व्यहोरेको जनाएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार चालु आवमा कोरोना महामारीका कारण निगमले हालसम्म ४ अर्बको घाटा व्यहोरेको बताए ।
गतवर्ष निगमले १३ अर्ब रुपैयाँ नाफा गरेको थियो । तर, चालु आवको शुरुवाती देखिनै निगमले निरन्तर घाटा व्यहोर्दै आएकाले असार मसान्तसम्ममा ४ अर्ब घाटा भएको जनाएको छ ।
विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नेपाल आयाल निगमले नियमित मूल्य समायोजन गर्न नसक्दा नोक्सान भएको आयल निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नु परेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमले नोक्सानी व्यहोर्दै गएपछि निरन्तर मूल्य बढाउँदै आएको छ । तर, मूल्य बढाए पनि सो नोक्सानले केही करोडमा मात्रै घट्ने निगमको भनाइ छ ।
‘निगमले हाल दैनिक ६ करोडभन्दा बढी नोक्सान व्यहोर्दै आएकोछ,’ उनले भने, ‘करिब १५ दिनको अवधिमा १ अर्ब हाराहारीमा नोक्सान व्यहोरेको छ ।’
विगतको दिनमा नाफा कमाउँदै आएको निगमले घाटा हुन नदिन निगम असफल भएको कार्यकारी निर्देशक पौडेल स्वीकार्छन् । त्यसैले आगामी दिनमा सो घाटालाई कसरी नाफा गर्न सकिन्छ भन्ने विषयमा छलफलहरू भइरहेको उनले बताए ।