अमेरिकाले दिएको १५ लाख बढी डोज खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण
काठमाडौं । अमेरिकी सरकारले अनुदानमा दिएको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरे ।
जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त कोरोनाविरुद्धको भ्याक्सिन सोमबार नै कतार एयरवेजमार्फत् नेपाल आएको हो ।
राजदूत बेरीले खोप अमेरिका जनताले नेपालका लागि दिएको निःशुल्क उपहार भएको बताए । उनले अमेरिकाले दिन लागेको खोपले नेपालको कुल जनसंख्याको ५ प्रतिशतलाई पुग्ने बताए ।
‘कोभिड-१९ विरुद्धको पूर्ण खोपका लागि जोन्सन एण्ड जोन्सनको एउटा मात्रा लगाए पुग्छ, राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्ने छैनौं । यो जीवन रक्षासँग जोडिएको विषय हो,’ बेरीले भने ।