पुरस्कारका लागि एउटा स्टार्टअपले मात्रै दियो आवेदन, सरकारले थप्यो ४ दिनको समय



काठमाडौं । सरकारले नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई पुरस्कृत गर्नका लागि माग गरेकोमा १ जनाको मात्रै आवेदन परेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप व्यवसायलाई सम्मानित गर्ने र केही लागत पुँजी पनि जुटाइदिने भन्दै गत हप्ता अघि आवेदन माग गरेको थियो ।

नयाँ र फरक खालका व्यवसाय तथा सोचलाई पुरस्कृत गर्ने गरी असार २३ गतेभित्र आवेदन दिन भनिए पनि यो अवधिमा एउटा मात्रै आवेदन परेको मन्त्रालयले जनाएको छ ।

अपेक्षित आवेदन नपरेपछि मन्त्रालयले गत शुक्रबार समय थप गरेको हो । आवेदन दिने समय ४ दिन थपेर असार २९ गतेसम्म पुर्याइएको छ ।

मन्त्रालयले पुरस्कार राशी र कति बराबरको लागत पुँजी उपलब्ध गराउने भन्ने विषय निर्धारण गरिसकेको छैन ।

नवीनतम ज्ञान, सीप र क्षमताको प्रयोग गरी नमूनायोग्य नवप्रवर्तनकारी उद्योग स्थापना गरेका उद्यमी, फर्म वा कम्पनीलाई लागी कदर र सम्मान गरी थप प्रोत्साहित गर्ने सोच सहित सरकारले यो योजना बनाएको थियो ।

छनौट प्रकृयामा नवप्रवर्तनलाई नेपालभित्रै सुधारिएको अथवा फरक प्रकृतिको वस्तुको उत्पादन गरेको वा नवीन किसिमको सेवा प्रदान गरेको कम्पनीलाई पहिलो प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

शुरुमा प्रस्ताव पेश गरेपछि मन्त्रालयले निश्चित मापदण्डका आधारमा संक्षिप्त सूची प्रकाशित गर्नेछ । यो प्रतियोगितामा भाग लिने व्यक्ति वा कम्पनीले कर प्रयोजनका लागि स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिएको हुनुपर्नेछ ।


क्लिकमान्डु