प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाखले रोजगारी पाएको मन्त्रालयको दावी



काठमाडौं । सरकारले बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आर्थिक वर्षमा २ लाख बेरोजगार युवाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चालु आवमा देशभरका २ लाख बेरोजगार युवालाई औसत १०० दिनको रोजगारी दिने लक्ष्य लिएको थियो । सोहीअनुसार हालसम्मको कामको विवरण हेर्दा २ लाखले रोजगारी पाएसकेको मन्त्रालयको दावी छ ।

सरकारले चालु आवमा २ लाख बेरोजगार युवालाई १०० दिनको रोजगारी सुनिश्चित गर्ने गरी ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको थियो ।

उक्त विनियोजन गरेको बजेटमध्ये १० अर्ब ३४ करोड बजेट ज्यालामा खर्च हुने लक्ष्य लिएको थियो । उक्त छुट्टाईएको बजेटबाट सरकारले हालसम्म १ लाख ५४ हजार २ सय १९ जना बेरोजगार युवाले रोजगारी पाएको सरकारी तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, चालु आवको अन्त्यसम्म आइपुग्दा विभिन्न स्थानीय तहले रोजगारी पाएका युवाहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको र समावेश गर्ने कार्य जारी रहेकाले चालु आवमा लक्ष्यअनुसार रोजगारी पाएको अपेक्षा लिएको प्रधानमन्त्री रोजगार कार्याक्रमका सहसचिव सुमन घिमिरे बताउँछन् ।

उनका अनुसार चालु आवमा कोरोना महामारीका कारण स्थानीयहरूमा कार्य सञ्चालनमा निकै प्रभाव परे पनि सरकारले लिएको लक्ष्य हासिल हुने बताए ।

‘चालु आवको अन्त्यसम्म आइपुग्दा सबै स्थानीय तहहरूले रोजगारी पाएका युवाहरूको संख्या प्रविष्ट गर्ने कार्य भइरहेको छ,’ उनले भने, ‘अझै ३÷४ दिन बाँकी भएकाले सबै स्थानीय तहको रोजगारी संख्या मन्त्रालयमा उपलब्ध भएमा कतिले रोजगारी पाए भन्ने स्पष्ट थाहा हुनेछ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि देशभर रहेका ७ लाख ५३ हजार ८१ जना बेरोजगार युवाले रोजगारी पाउनको लागि सरकारी तथ्याङ्कमा सूचीकृत भएका थिए ।

उक्त सूचिकृतमध्ये ४ लाख ३४ हजार पुरुष, ३ लाख १८ हजार २८ जना महिला र १४२ जना अन्य रहेका थिए । देशभरबाट उक्त संख्यामा बेरोजगार युवाहरूमा सूचिकृत भए पनि २ लाखले मात्रै रोजगारी दिने मन्त्रालयले जनाएको थियो ।

जसमा २ लाख रोजगारी दिनको लागि विभिन्न स्थानीय तहहरूले करिब साढे १५ हजार आयोजनामा काम गरेको सरकारी तथ्याङ्कले उल्लेख गरेको छ ।

औसत ५८ दिनको रोजगारी
सरकारले औसत १०० दिनको रोजगारी दिने लक्ष्य लिए पनि हालसम्मको तथ्याङ्क अनुसार रोजगारी पाएका युवाहरूले औसत ५८ दिनको रोजगारी पाएका छन् ।

जसमा सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशले ३६ हजार ७५ बेरोजगार युवालाइै औसत ६२ दिनको रोजगारी दिएका छन् । त्यस्तै कर्णाली प्रदेशले २५ हजार ३ सय ७२ जनालाई औसत ५२ दिनको रोजगारी दिएका छन् ।

त्यसैगरी, प्रदेश १ ले २४ हजार ८ सयलाई औसत ६५ दिनको, लुम्बिनी प्रदेशले २३ हजार ५ सय ७५ जनालाई औसत ६३ दिनको, बाग्मती प्रदेशले २१ हजार ७८ जनालाई औसत ६१ दिनको, गण्डकी प्रदेशले ११ हजार ६ सय ८२ जनालाई औसत ५२ दिनको र प्रदेश २ ले ११हजार ६ सय २१ जना बेरोजगार युवालाई औसत ३३ दिनको रोजगारी प्रदान गरेका छन् ।

उक्त आबद्ध भएका युवाहरूले ८९ लाख ५० हजार ५ सय ४८ दिनको रोजगारी पाएको सरकारी तथ्याङ्कले उल्लेख गरेको छ ।


क्लिकमान्डु