विदेशी पर्यटक ल्याउन तयार हुनुहोस्, हलिउडसँग पहल भइरहेको छः राजदूत युवराज खतिवडा



काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले नेपाल विदेशी पर्यटक ल्याउनका लागि तयार रहनुपर्ने बताएका छन् ।

बुधबार पर्यटन बोर्डले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै खतिवडाले नेपालमा सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहेको जानकारी दिए ।

बोर्डले अमेरिका, क्यानडा र ब्राजिलका राजदूतसँग भर्चुअल संवाद गरेको थियो ।

राजदूत युवराज खतिवडाले छिमकी मुलुक भारत र चीन बाहेकका मुलुकका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रर्वधनात्मक कार्यक्रम आयोजना गर्नु पर्ने बताए ।

यस्तै क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङानाले कोभिडको प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटकहरु भ्रमणमा निस्किरहेको भन्दै नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिँदै बाह्य पर्यटकलाई आर्कषित गर्नुपर्ने भनाइ व्यक्त गरे ।

उनले पर्यटक आगमनमात्र नभएर पर्यटनमा वैदेशिक लगानी भित्र्याउने गरी दूतावासले पहल गरिरहेको र यसमा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सम्पर्क भइरहेको जानकारी दिए ।

यस्तै ब्राजिलका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन (सेकेन्ड सक्रेटरी) भरत खनालले नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रर्वद्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताए । उनले डिजिटल तथा परम्परागत दुवै खालका प्रर्वद्धनात्मक सामग्रीको उत्पादन र प्रचार गर्न बोर्डलाई सुझाव दिए ।

यस्तै न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका कार्यकारी कन्सुल जनरल विष्णुप्रसाद गौतमले न्युयोर्कबाट नेपाल जाने पर्यटकको संख्या विगतका वर्षहरुमा बढदै गईरहको सन्दर्भमा नेपालको बारेमा सही सूचना प्रवाह गर्न सके यसलाई निरन्तरता दिन सकिने बताए ।

उनले विगतमा पर्यटन बोर्डले गराउने फ्यामट्रिपले नेपालको प्रचारमा सहयोग गरेकोले त्यहाँका विशिष्ट व्यक्तिहरुलाई नेपाल लैजाने गरी फ्यामट्रिपको व्यवस्था गर्न बोर्डलाई आग्रह गरे ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधार देखि अन्तरनिकाय समन्वय र बजेटको सिमिततालाई ध्यानदिँदै बोर्डले काम गरिरहेको जानकारी दिए ।

उनले नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरीपर्यटकीय गन्तव्यको विकासमा लागेको जानकारी दिए ।

उनले कोभिडले गर्दा पहिले जस्तो अवस्था नभएपनि पुनरुत्थानका कार्यक्रकासाथ अघि बढ्नुको विकल्प नभएको र बताए ।

‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर कोभिडको दोस्रो चरणको संक्रमण र तेस्रो भेरियन्टको चर्चा हुँदै गर्दा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताकासाथ अघि बढ्नु पर्ने अवस्था छ । त्यसको लागि राजदूत र दूतावासको सहयोग आवश्यक छ,’ उनले भने ।


क्लिकमान्डु