१० वर्षका लागि १० करोडसम्म सहुलियत कृषि कर्जा आवश्यक: दुग्ध व्यवसायी
काठमाडौं । डेरी उद्योग संघले १० करोडसम्म सहुलियत ब्याजदरमा कृषि कर्जा उपलब्त्र गराउन सरकारलसँग माग गरेको छ ।
कोरोना कारण दुग्ध क्षेत्रमा आबद्ध भएका किसान र उद्यमीलाई उकास्न र टिकाइ राख्नका लागि संघले १० करोडसम्म कम्तीमा १० वर्षको सहुलियत कर्जा उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय पत्र बुझाएर माग गरेको हो ।
संघका अनुसार चालु पुँजीको अभावमा किसानको नियमित भुक्तानी, धुलो दूध कन्भर्सन ज्याला र कर्मचारीको तलब दिन समेत समस्या आएको छ ।
त्यसैले दुग्ध विकास संस्थानलाई रकम दिए जस्तै निजी डेरी उद्योगहरुमा भएको मौज्दातको आधारमा कृषि कर्जा तत्काल उपलब्ध गराउन संघले सरकारलाई ध्यानाकर्षण गरेको छ ।
त्यस्तै, हालको विषम परिस्थितिमा ज्यानको प्रवाह नगरी दूध जस्तो अत्यावश्यक वस्तुको सेवा प्रदान गर्ने देश भरिकै दूध संकलन, प्रशोधन र विक्रि वितरणको अग्र भागमा काम गर्ने कर्मचारी व्यवस्थापक कोभिड विरुद्धको खोप दिने व्यवस्था गर्न माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘स्वदेशी दुग्धजन्य पदार्थको मौज्दातले आन्तरिक बजार धान्न सक्ने भएकोले तत्काल आयातित सम्पूर्ण दुग्धजन्य पदार्थहरु जस्तै धुलो दूध (स्कीम मिल्क पाउडर), होल मिल्क पाउडर, स्प्रेड मिल्क पाउडर, वटर, घिउ, बटर आयल, चीज, पनीर, दही, आइसक्रिम, फ्रोजन डेर्जट र दूधबाट बनेका मिठाई एवं परिकारहरु आयातमा पूर्णरुपमा प्रतिवन्ध लगाई देशको उत्पादनलाई स्वदेश मै खपत गर्न प्रोत्साहित गर्नुपर्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, कोभिड १९ को पहिलो तथा दोश्रो लहरमा किसानको विक्रि हुन नसकी खेर गएको दूधमा प्रति लिटर १० रुपैयाँ अनुदान दिनुपर्ने संघको भनाइ छ । त्यस्तै, डेरी उद्योगहरुले झोल दूधबाट धुलो दूध बनाउदा १६ रुपैयाँदेखि २१ रुपैयाँसम्म नोक्सान व्यहोर्नु परिरहेकोले धुलो दूध बनाई मिल्क होलिडे समस्या अन्त गर्न ६ रुपैयाँसम्म ढुवानी अनुदान दिने व्यवस्था गर्नुपर्ने संघले जनाएको छ ।