खोप ल्याउन राष्ट्रपतिमार्फत् चिट्ठी लेखाइनु ‘चाइल्डिस डिप्लोमेसी’: जितेन्द्रनारायण देव
काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देवले खोप कुटनीतिमा सरकार पूर्णरुपमा असफल भएको टिप्पणी गरेका छन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवले विभिन्न मुलुकलाई खोप सहयोग गरिदिन भन्दै राष्ट्रपतिमार्फत् चिट्ठी लेखाउनु कुटनीतिको उपहास र सरकारको निकम्मापन रहेको पनि आरोप लगाए ।
‘खोप ल्याउने मामलामा नेपाल सरकार पूर्णअसफल देखिएको छ । अन्तर्राष्ट्रिय रुपमा नेपालको विश्वसनीयता गुमेको छ,’ उनले भने, ‘सरकारको विश्वनीयता गुमेको अवस्था राष्ट्रपतिजस्तो सम्मानित ओहोदाबाट पत्र लेखाउने हो ? म त यसलाई चाइल्डिस डिम्लोमेसी भन्छु । बचपना कुटनीति भन्छु । गल्ती गरेको छ । यसलाई नेपाल सरकारले स्वीकारेर आत्मआलोचना गर्ने कि नगर्ने ?’
अमेरिका, बेलायत र भारतसँगको सम्बन्धमा सरकारले कुटनीति ख्याल नगरेको उनले बताए ।
त्यस्तै भारत र बेलायतमा कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहेको सामान्य कुरालाई पनि नबुझेर राष्ट्रपतिमार्फत् चिट्ठी लेखाइनु गलत रहेको उनले बताए ।
‘खोप ल्याउने सन्दर्भमा राष्ट्रपतिबाट चिट्ठी लेखाउने कामै गर्न हुँदैनथ्यो । लेख्नै पथ्र्यौ भने परराष्ट्र मन्त्री वा प्रधानमन्त्री कै तहबाट लेख्न सकिन्थ्यो,’ नेता देवले भने ।
त्यस्तै सरकारले परराष्ट्र मन्त्रालाई निकम्मा बनाएको पनि उनको आरोप छ ।
‘परराष्ट्र मन्त्रालयलाई अहिलेको सरकारले पंगु बनाएको छ । कार्यकर्तालाई भर्ती गर्ने केन्द्र बनाइएको छ । कुटनीति नै नजानेको व्यक्तिले राजनीतिक नेतृत्व लिएको छ,’ उनले भने ।