बैंकिङ क्षेत्रको नाफा ११ महिनामा १९ प्रतिशतबढीले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्त कम्पनीहरुको नाफा १९.२९ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीको नाफा ५८ अर्ब ९२ करोड रुपैयाँ थियो । जसमा ११ अर्ब ३६ करोड रुपैयाँ थप भइ चालु आवको जेठ मसान्तसम्म ७० अर्ब २८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको नाफा १४.७४ प्रतिशत, विकास बैंकहरुको ५८.०४ प्रतिशत र वित्त कम्पनीहरुको नाफा १४८.७० प्रतिशतले वृद्धि भएको छ ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको असार मसान्तसम्म ५४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएका थिए । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ८ अर्ब १ करोड रुपैयाँले थप भइ ६२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, गत आवको असार मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ८० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
जसमा २ अर्ब २० करोड ८० लाख रुपैयाँ थप गरी चालु आवको जेठ मसान्तसम्म ६ अर्ब १ करोड २० लाख रुपैयाँ पुगेको छ ।
सञ्चालनमा रहेको २० वटा वित्त कम्पनीहरुले गत आवको असार मसान्तसम्म ७७ करोड रुपैयाँ नाफा कमाएका थिए । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा १ अर्ब १४ करोड ५० लाख रुपैयाँले थप भएर १ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।