समयमै मल ल्याउन स्वदेशी कम्पनी असफलः शैलुङ, होनिको र मुक्तिनाथ कालोसूचीमा



काठमाडौं । रासायनिक मलको आपूर्तिमा स्वदेशी कम्पनी असफल देखिएका छन् । रासायनिक मल आपूर्तिका लागि कृषि सामग्री कम्पनीमार्फत् हालसम्म तीनवटा स्वदेशी कम्पनीले ठेक्का पाएका थिए । तर तीनवटै कम्पनी पूर्णरुपमा असफल भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरभेटी समेत रहेका शारदाप्रसाद अधिकारी संचालक रहेको शैलुङ इन्टरप्राइजेज, हुमनाथ कोइराला सञ्चालक रहेको होनिको मल्टिपल र भरतराज ढकाल सञ्चालक रहेको मुक्तिनाथ कृषि कम्पनीले रासायनिक मलका विभिन्न ठेक्का पाएका थिए । तर यी तीनवटै कम्पनीले मल ल्याउन सकेनन् र धरौटी जफत भयो ।

मलका ठेक्का अलपत्र पारेपछि कृषि सामग्री कम्पनीले कालोसूचीमा राख्न सिफारिस गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएको थियो । खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

शैलुङ यसअघि नै कालोसूचीमा रहेको कम्पनी हो । रासायनिक मलका पहिलो र दोस्रो ठेक्का अलपत्र पारेपछि तत्कालिन कृषिमन्त्री घनश्याम भुषाल गतवर्ष भदौमा शैलुङ र होनिकोसँगको ठेक्कासम्झौता खारेज गर्दै कालोसूचीमा सिफारिस गर्नका लागि कृषि सामग्री कम्पनीलाई निर्देशन दिएका थिए । शैलुङ दोस्रो पटक कारबाहीमा परेको हो ।

शैलुङ इन्टरप्राइजेजले ८० हजार मेट्रिक टन, होनिको मल्टिपलले २५ हजार मेट्रिक टन र मुक्तिनाथ कृषि कम्पनीले ४५ हजार मेट्रिक टन बराबर रासायनिक मलका ठेक्का अलपत्र पारेका थिए ।


क्लिकमान्डु