एडीबीको नेपाल निर्देशकमा आर्नड कौकोइस नियुक्त



काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को नेपाल निर्देशकमा आर्नड कौकोइस नियुक्त भएका छन् ।

विभिन्न क्षेत्रमा तीन दशक र एडीबीमै १५ वर्षको कार्यअनुभव रहेका कौकोइस यसअघि भारत, श्रीलंका र नेपालमा समेत प्रिन्सिपल वाटर रिसोर्स स्पेसियलिस्टका रुपमा काम गरिसकेका छन् । एडीबीको नेपाल रेसिडेन्ट मिसनमा रही उनले नेपालको जलस्रोत व्यवस्थापन प्रणाली बारे ६ वर्षसम्म अध्ययन गरेका थिए ।

‘एडीबीको नेपालसँगको सहकार्यको लामो इतिहास छ । र, यसलाई अझ बढी दरिलो बनाउनका लागि पहल गर्ने विस्वास गरेको छु,’ नेपाल निर्देशकको जिम्मेवारी सम्हाल्दै कौकोइसले भने, ‘सरकार, विकास साझेदार र अरु सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यमा स्वास्थ्य र आर्थिक पुनरुत्थानको विषयलाई पहिलो प्राथमिकतामा राखी तत्कालीन र दीर्घकालीन रुपमा अबलम्बन गर्नुपर्ने नीतिहरु कार्यान्वयन गर्छौ ।’

एसियाली विकास बैंक नेपालको सबैभन्दा ठूलो दातृ निकाय र विकास साझेदार हो । एडीबी स्थापना भएको सन् १९६६ देखि हालसम्म नेपालले ७ अर्ब अमेरिकी डलर भन्दा बढी आर्थिक र प्राविधिक सहयोग पाइसकेको छ ।


क्लिकमान्डु