माथिल्लो तामाकोशीको जीडीपीमा योगदान १ प्रतिशतः उर्जामन्त्री पौडेल



काठमाडौं । उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विष्णुप्रसाद पौडेलले सोमबारबाट उत्पादन शुरु भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा १ प्रतिशत योगदान पुर्याउने बताएका छन् ।

अर्थमन्त्री समेत रहेका पौडेलले अहिले कोभिड १९ महामारीको विषम परिस्थीतिमा पनि मुलुकको आर्थिक वृद्धिदर हासिल गर्नका लागि यो आयोजनाले ठूलो योगदान पुर्याउने बताए ।

आयोजनाबाट विद्युत् उत्पादन शुरु भएसँगै मुलुकको जलविद्युत् क्षेत्रमा कोशेढुंगा गाड्न सफल भएको र सँगसँगै यो आयोजनाले केही महत्वपूर्ण पाठ तथा शिक्षा छाडेर गएको पनि उनले बताए ।

‘यो आयोजनाले एकातर्फ हाम्रो छरिएर रहेको पुँजीलाई संकलन गरी माथिल्लो तामाकोशीजस्ता आयोजनामा लगानी गर्न सक्छौं भन्ने पाठ सिकाएको छ,’ उनले भने, ‘अर्कोतर्फ यो आयोजना आफैमा जलविद्युत क्षेत्रको पाठशाला हो । यति ठूलो आयोजना निर्माण गरेको अनुभव पनि अब हामीसँग भएको छ ।’

निर्धारित समय र लागतमा आयोजना सम्पन्न हुन नसक्नुको पडाडिका कारणहरु अध्ययन तथा विश्लेषण गरेर नयाँ पाठ सिक्न सकिने मन्त्री पौडेलको भनाइ छ ।

‘आगामी आयोजनामा यस्ता कमजोरीको पुनरावृत्ति हुन नदिनका लागि हामीले माथिल्लो तामाकोशीबाट सिक्न सक्छौं,’ पौडेलले भने ।


क्लिकमान्डु