काठमाडौँ महानगरको आर्थिक विधेयक पारित, ४ अर्ब ३४ करोड राजस्व उठाउने लक्ष्य




काठमाडौ । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक २०७८ पारित भएको छ ।

राष्ट्रिय सभा गृहमा बसेको नवौँ अधिवेसनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो ।

महामारीले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशत देखि बढीमा ९० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ ।

बैठकका अध्यक्ष एवम महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘महामारीको पीडा भोगिरहेको आर्थिक क्षेत्रको उठ्न सक्ने बनाउन राजस्वका दर यथावत गरेर दायरा बढाउने नीतिअनुरुपमा हामीले निर्णय गरेका छौँ ।’

यसअघि असार ३ गते सभामा पेश भएको आव. २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम छलफलपछि असार ६ गते बसेको तेस्रो बैठकले पारित गरेको थियो ।

असार १० गतेको चौथो सभामा आव. २०७८/७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौँ महानगरपालिका आर्थिक विधेयक, २०७८’ प्रस्ताव गरेका थिए । त्यही बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आव २०७८/७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बजेट र विनियोजन विधेयक २०७८ पेश गरेका थिइन् ।

आव २०७८/७९ का लागि आन्तरिक आयतर्फ ४ अर्व ३४ करोड ३२ लाख रुपैयाँको लक्ष्य राखिएको छ ।

आर्थिक विधेयकमाथिको छलफलमा नगर सभा सदस्यहरु मचाराजा महर्जन, आनन्द गौत्तम, जीवन डंगोल, कृष्णमणि भट्टराई, नरेशमान महर्जन र आशा श्रेष्ठ रौनियारले धारणा राखेका थिए ।

बैठकमा लेखा समितिका संयोजक ध्रुवप्रसाद त्रिपाठीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । छलफलपछि सभाले प्रतिवेदन पारित गरेको छ ।

नगर सभाको छैटौँ बैठक असार २५ गते बस्नेछ । त्यस बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।


क्लिकमान्डु