एक्पायर भिसा कार्ड प्रयोग गरी सिद्धार्थ बैंकको एटीएमबाट ३४ लाख झिक्ने २ जना पक्राउ



काठमाडौं । सिद्धार्थ बैंकको एटीएम बुथबाट अवैधानिक रुपमा लाखौं रकम झिक्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिति सकिएको भिसा कार्ड प्रयोग गरी ३४ लाख ३५ हजार रुपैयाँ झिक्ने एक महिला र पुरुषलाई प्रहरीले आइतबार प्रक्राउ गरेको हो ।

लन्डनको ‘एलएलओआइडीएस भिसा डेबिट कार्ड’ बाट अवैधानिक रुपमा एटीएमबाट रकम झिक्नेलाई काठमाडौंको कालोपुल स्थित भत्केको पुलबाट हिरासतमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रक्राउ पर्नेमा स्थायी घर सोलुखुम्बुका जगतबहादुर गुरुङ्ग र पर्साकी सावित्री गुरुङ छन् । उनीहरु दुबै काठमाडौंस्थित कालोपुलमा कोठा भाडा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा विषेश टोली परिचालन गरी खोजतलास गर्दा उनीहरुबाट मिति गुज्रिएको एलएलओआइडीएस भिसा डेबिट कार्ड लण्डन र २१ लाख रुपैयाँ बरामद भएको छ ।

उक्त मिति गुज्रिएको भिसा कार्डबाट उनीहरुले चावहिल, कालोपूल र हात्तीसार भाटभटेनीमा रहेका सिद्धार्थ बैंकका एटीएमबाट कुल ३४ लाख ३५ हजार रुपैयाँ झिकेका थिए । जसमध्ये १० लाख ५० हजार रुपैयाँ सहकारी संस्थामा जम्मा गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई हिरासतमै राखेको जानकारी दिएको छ ।


क्लिकमान्डु