प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा सदस्य रायमाझीले देखाए सदनमै कालो टोपी
काठमाडौं । प्रतिनिधिसभा विघटन र सरकारको विरोधमा राष्ट्रियसभामा विरोध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेशजंग राजमाझीले कालोझण्डा ल्याउन नमिलेकाले सांकेतिकरुपमा कालो टोली देखाएका हुन् ।
‘सदनमा कालोझण्डा देखाउने अवस्था नभएकाले आज प्रधानमन्त्रीको कदमका विरुद्धमा कालो क्याप र कालै पहिरन (गेटअप) मा प्रवेश गरेको छु,’ रायमाझीले विशेष समयमा बोल्दै भने, ‘कालो झण्डाको रुपमा मैले कालो क्याप प्रस्तुत गरेको छु ।’
रायमाझीले आफ्नो टोपी फुकालेर संसदमा देखाएका थिए । उनले औपचारिक रुपमा कहिल्यै क्याप नलाउने भएपनि अहिले सांकेतिक विरोधका लागि लगाएको बताए ।
‘मैले आजका दिनसम्म क्याप लगाएको थिइन । मैले आज गेटअप परिवर्तन गरेर आएको छु । यो सांकेतिक (सिम्बोलिक) रुपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनका विरुद्धमा मैले यो आवाज उठाइरहेको छु,’ उनले भने ।
प्रधानमन्त्रीले संविधान मिचेर संसद विघटन गरिसकेपछि लाखौं मान्छे त्यसको विरोधमा कालो झण्डा लिएर सडकमा निस्कनुपर्ने बेला भएपनि महामारीका कारण त्यसो गर्न नसकिएकोसमेत उनले संसदमा बताए ।
‘संविधानलाई धुजा-धुजा बनाएको विरुद्धमा पाँच राजनीतिक दलको गठबन्धनको सुझबुझका कारण र संयमताका कारण अहिले महामारीको बेला जनतालाई सडकमा उतारेर जोखिम मोल्न हुँदैन भनेर कालोझण्डा देखाइएन । सडक विरोध भएन,’ उनले भने, ‘तर यो कालो पहिरन लगाएर संसद छिर्नु मेरो सांकेतिक विरोध हो ।’