अन्तर्राष्ट्रिय उडान निश्चित नहुँदा समयमै सुन आयातमा समस्या



काठमाडौं । कोरोनो संक्रमणको दोस्रो लहर शुरु भएपछि बन्द भएको सुन आयात लकडाउन खुकुलो भएसँगै पुनः आयात गर्ने भनिए पनि अन्तर्राष्ट्रिय उडान निश्चित नहुँदा समयमै बजारमा सुन आयात हुन सकेको छैन ।

करिब २ महिनासम्म आयात ठप्प भएको सुनको आयात गत असार ८ गतेदेखि बजार खुकुलो भएसँगै ४ सय सुन आयात गर्नका लागि बैंकहरूलाई अनुमति दिइएको थियो ।

उक्त सुन आयातका लागि ८ वटा वाणिज्य बैंकले ल्याउने निर्णय भएको थियो । उक्त बैंकहरूले ५०/५० केजीको दरले आयातका लागि बैंकर्स संघले अनुमति दिइएको थियो । तर, अन्तर्राष्ट्रिय उडानको निश्चित नहुदा समयमै सुन आयात हुन नसकेको बैंकर्स संघकी सूचना अधिकारी सविना श्रेष्ठले बताइन् ।

बैंकहरूले ४ सय केजी आयात गर्ने भनिएकोमा हालसम्म २ सय केजी सुन आयात भइसकेको छ । बाग्मति प्रदेशका लागि गत १० गते नै सिद्धार्थ बैंकले ५० केजी सुन आयात गरिसकेको छ । उक्त सुन बजारमा वितरण भइसकेको छ । साथै, उपत्यका बाहिरका लागि पनि एनएमबि र सिटिजन्स बैंकले ५०/५० केजीको दरले सुन आयात गरिसकेको छ । साथै नबिल बैंकले पनि शनिबार ५० केजी सुन आयात गरिसकेको नेपाल सुनचाँदी महासंघका महासचिव धर्म रत्न बज्रचार्यले बताए ।

साथै, बाँकी भएको सुन आयातको लागि बैंकहरूसँग निरन्तर वार्ता गर्दा अन्तर्राष्ट्रिय उडान निश्चित हुन नसक्दा आयात ढिला हुन पुगेको बैंकहरूले जानकारी दिएको उनले बताए ।

‘महासंघले बजार खुकुलो भएसँगै ८५ केजी ल्याउनका लागि आग्रह गरेको थियो । त्यसमा बैंकहरूको तालमेल र उडान निश्चित नहुँदा धेरै ढिला भइरहेको छ,’ उनले क्लिकमान्डूसँग भने ।

उनका अनुसार असार मसान्तसम्ममा करिब १५ सय केजीसम्म आयात गर्नुपर्ने अवस्था हो । तर, ४ सय केजी पनि आउन नसक्दा बजारमा सुनको अभाव हुन थालेको उनको भनाइ छ । साथै, समयमै व्यवसायीलाई समयमै सुन उपलब्ध नभएमा व्यवसायी मारमा पर्ने उनले जिकिर गरे ।


क्लिकमान्डु