वैदेशिक रोजगारीको माग उच्च, खोप अनिवार्य हुँदा श्रमिक जान पाएनन्



काठमाडौं । कोरोना भाइरस महामारीका कारण निकै प्रभावित भएको वैदेशिक रोजगारीमा पछिल्लो समय विभिन्न खाडी मुलुकका श्रमिक माग बढ्न थालेको छ ।

जसअनुसार नेपालमा पनि म्यानपावर कम्पनीले पनि विज्ञापन गर्न थालेका छन् । मलेसिया, युएई र कुवेतबाहेक अन्य खाडी मुलुकले नेपाली श्रमिक लैजान इच्छुक राखेसँगै माग बढेको नेपाल वैदेशिक रोजगारा व्यवसायी संघले जनाएको छ ।

संघका महासचिव सुजित कुमार श्रेष्ठका अनुसार पछिल्लो समय विभिन्न देशका रोजगारदाताले श्रमिक माग गर्न थालेको बताए ।

‘अहिले कामदारको माग बिस्तारै बढ्दै गएको छ,’ उनले भने, ‘तर, नेपालबाट वैदेशिक रोजगारीमा पठाउने संयन्त्र कमजोर हुँदा समस्या भइरहेको छ ।’

कोरोनाको समयमा पनि माग आए पनि स्वास्थ्य प्रोटोकललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय निकै चुनौती भएको उनले बताए ।

‘कतारले अहिले फुटबल वर्ल्डकपलाई लक्षित गरेर यो वर्ष धेरै काम सकाउनु पर्ने छ । विगतका दिनमा वार्षिक वैदेशिक रोजगारीमा ५ लाख जाने गथ्र्यो भने आगामी दिनमा ३ लाखको हाराहारीमा श्रमिक मात्रै कतारका लागि माग आउनेछ,’ उनले भने ।

हाल पनि कतारको मात्रै ५० हजार बढी नेपाली श्रमिक रहेकाले अन्य देशमा पनि माग उच्च रहेको उनको भनाइ छ । उक्त माग आउन भनेको सोचेभन्दा बढी श्रमिकको माग आउन थालेको उनले बताए ।

हाल विभिन्न देशले भ्याक्सिन उत्पादन गरी आफ्नो जनतालाई खोप वितरण गरिरहेका छन् । नेपालले उत्पादन नभए आयात गरेर पनि खोप लगाइरहेको अवस्था छ । तर, अहिले विदेशका रोजगारदाताले पनि श्रमिकको लागि खोप अनिवार्य खोप वा क्वारेन्टिनको व्यवस्था गरेसँगै नेपाली श्रमिकहरु वैदेशिक रोजगारमा जान रोकिएका छन् ।

जसमा रोजगारदाताले भ्याक्सिन र क्वारेन्टिनबिना श्रमिक नलिने अडान गरिरहेकाले श्रमिकहरू क्वारेन्टिनको चर्को मूल्यले गर्दा रोकिएको उनको भनाइ छ ।

‘कतारको क्वारेन्टिनको मूल्य अहिले २५ सयदेखि ३ हजार कतारी रियाल छ । साउदी अरबमा पनि क्यारेन्टिनको व्यवस्था छ । तर, उक्त क्वारेन्टिको मूल्य करिब ८ सय यूरो अर्थात नेपाली रकम १ लाखको हाराहारी रहेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘यसले गर्दा कोही श्रमिक त्यति धेरै पैसा तिरेर विदेश जान चाहँदैनन् ।’ साथै, रोजगारदाता कम्पनीले खर्च व्यहोर्न सक्ने स्थिति नरहेकाले हजारौं नेपाली रोकिएको उनको भनाइ छ ।

रोजगारदाताले भ्याक्सिन उपलब्ध भएमा क्वारेन्टिनमा बस्नु नपर्ने जनाएको छ । जसमा भ्याक्सिन उपलब्ध भएको खण्डमा सहज हुनेछ । क्वारेन्टिभन्दा भ्याक्सिन सस्तो पर्ने भएकाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सजिलै उपलब्ध गराएमा हजारौं नेपालीले रोजगारी पाउने उनको दाबी छ ।

कतारले भ्याक्सिन वा क्वारेन्टिन भनेको छ भने साउदीले अगस्ट १ सम्मको लागि भ्याक्सिन वा क्वारेन्टिन तोकेको छ । तर, अगस्टपछि भने भ्याक्सिन अनिवार्य हुने भएको छ । त्यसैले नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागि समयमै भ्याक्सिन उपलब्ध गराउन सक्ने कि नसक्ने भन्ने विषय पनि निकै चुनौती रहेको छ ।

वैदेशिक रोजगारीले अर्थतन्त्रमा ठूलो योगदान दिएको अवस्थामा अबको दिनमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरकारले प्राथमिताको आधारमा खोप उपलब्ध गराई रोजगारी सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

हाल सरकारले अहिले खाडी मुलुकका लागि नियमित उडनको व्यवस्था गरेको छ । साथै, आइतबारदेखि हप्ताभरी नै श्रम स्वीकृति दिने निर्णय गरिसकेको छ । यसले गर्दा केही सहज भएको व्यवसायीहरू बताउँछन् । त्यस्तै आगामी दिनमा पनि रोजगारी जाने श्रमिकलाई प्राथमिकताको आधारमा भ्याक्सिन उपलब्ध गराउने उनको विश्वास छ ।


क्लिकमान्डु