क्लिन फिड लागू भएको ८ महिना पूरा, अझै रोकिएनन् विदेशी विज्ञापन
काठमाडौं । सरकारले गत कात्तिक ८ गतेदेखि क्लिन फिड लागू गरे पनि विदेशी विज्ञापन भने अझै रोकिएको छैन । क्लिन फिडमा विदेशी टेलिभिजनले आफूले उत्पादन गरेको सामग्री प्रसारण गर्न पाउने भए पनि विज्ञापन भने पूर्णरुपमा बन्द गर्नुपर्ने हुन्छ ।
क्लिन फिड लागू भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन कार्याक्रम विज्ञापनरहित हुने धेरैको विश्वास थियो । नेपालमा क्लिन फिड लागू भएको ८ महिन पूरा हुँदा पनि विदेशी टेलिभिजनमा विज्ञापन रोकिएका छैनन् ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई क्लिन फिड लागू भइसकेको अवस्थामा विदेशी च्यानल विज्ञापनरहित हुनुपर्ने बताए ।
‘विदेशी च्यानलमा विज्ञापन प्रशारण गर्न पाइदैन । यो गैरकानूनी हो,’ हुमागाँइले भने, ‘यदि कसैले विज्ञापन प्रशारण गरेको छ भने कारबाही हुन्छ ।’
नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विज्ञापन प्रशारण भइरहेको गुनासो आएको उनको भनाइ छ । यस विषयमा बोर्डले केबल टिभी अपरेटर संघ र नेपाल केबल टिभी महासंघसँग छलफल गरिरहेको छ ।
‘अहिले कोभिडका कारण अनुगमन गर्न सकिएको छैन । यो समस्यालाई कसरी हल गर्ने भनेर विज्ञापन बोर्ड लागिरहेको छ,’ उनले भने, ‘सम्भवत एक महिनाभित्रमा यस्तो समस्या हल गरिनेछ ।’
कम्प्युटर एसोशियसन अफ नेपालका पूर्वअध्यक्ष विनोद ढकालले नेपालमा क्लिन फिड पूर्णरुपमा फेल भएको बताए । क्लिन फिड प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको भए मुलुकलाई आर्थिक रुपमा फाइदा हुन्थ्यो । सरकार र निजी क्षेत्रबीच क्लिन फिड कार्यान्वयनको विषयमा सहकार्य नहुँदा समस्या देखिएको ढकाल बताउँछन् ।
‘केही केबल टिभी अपरेटर क्लिन फिड लागू गर्नुपर्ने भन्ने पक्षमा छन् भने केही यसको विपक्षमा छन् । यसले पनि समस्या निम्त्याएको छ,’ ढकालले भने, ‘साथै क्लिन फिडको विषयमा सरकारले आवश्यक अध्ययन र पूर्वतयारी बिना ल्याएको जस्तो देखियो । आवश्यक पूर्वाधार बिना प्रविधिलाई रोक्न सकिदैन ।’
अहिलेको अवस्थामा क्लिन फिडको किन लागू भएन भनेर सरकार चुप लागेर नै बसेको जस्तो देखिन्छ ।
इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)का अध्यक्ष सुधीर पराजुलीका अनुसार मुख्य विदेशी च्यालनमा विज्ञापन रोकिसकिएको बताउँछन् ।
‘स्पोर्ट च्यानलमा भने कहिलेकाँही विज्ञापन देखिने गरेको छ । नियतवश विज्ञापन प्रसारण भएको होइन । क्लिन फिडका लागि आर्टिफिसियल इन्टेलिजन्सको प्रयोग गरिएको छ,’ पराजुलीले भने, ‘नयाँ विज्ञापन आउँदा आर्टिफिसियल इन्टेलिजन्सले कार्यक्रमकै अंश भनेर रोक्न नसकेको जस्तो देखिन्छ ।’
केही समयपछि आर्टिफिसियल इन्टेलिजन्सले विज्ञापन भन्ने चिनेपछि रोकिने उनको दाबी छ ।
नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालका अनुसार नेपालको विज्ञापन बजार पौने १२ अर्ब रुपैयाँको छ । क्लिन फिड पूर्णरुपमा लागू गर्न सके नेपालको विज्ञापन बजार ६० देखि ७० प्रतिशतसम्म बढ्ने उनको अनुमान छ ।
‘विज्ञापन ऐन बन्दै गर्दा सरकारले क्लिन फिड लागू गर्यो । विज्ञापन रोक्ने विषय प्राविधिक भएकाले केही गाह्रो भएको छ,’ धितालले भने, ‘साथै कोभिड र लकडाउनका कारण विज्ञापन रोक्ने प्रविधि ल्याउन असहज भएको छ ।’ यीलगायत विविध समस्याका कारणले गर्दा सरकारले क्लिन फिड कार्यान्वयनमा केही छुट दिएको हुन सक्ने उनको अनुमान छ ।
क्लिन फिड पूर्णरुपमा लागू भएमा विज्ञापन बजार करिब २० अर्बको हुने उनको भनाइ छ । यो रकमले अनलाइन, टेलिभिजन, रेडियो, पत्रपत्रिकालागयत सञ्चार माध्यममलाई बजेटको अभाव हुने छैन ।