आजदेखि माथिल्लो तामाकोसीबाट विद्युत् उत्पादन हुँदै, प्रधानमन्त्रीले दिउँसो उद्घाटन गर्ने



C

काठमाडौं । निर्माण शुरु भएको ११ वर्षपछि माथिल्लो तामाकासीबाट आजदेखि विद्युत् उत्पादन शुरु हुने भएको छ । तत्कालीन समयमा ५ वर्षमा सकिनुपर्ने भनिए पनि थप ७ वर्षपछि निर्माण कार्य सम्पन्न भएको छ ।

कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो जलविद्युत् आयोजनाबाट सोमबार एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन शुरु हुनेछ ।

प्रधानमन्त्रीले माथिल्लो तामाकोसीको सोमबार साँझ ४ बजेतिर भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनामा कुल ६ वटा युनिट छन् । जसबाट ७६ मेगावाटका दरले ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

तर सोमबारदेखि एउटा युनिटबाट मात्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

करिब ३ महिनाको निरन्तर परीक्षणपछि आयोजनाबाट विद्युत् उत्पादन हुन लागेको हो । आगामी आर्थिक वर्षमा ४५६ मेगावाट नै उत्पादनको लक्ष्य समेत लिइएको छ ।

आयोजना सम्पन्न हुनुपर्ने अवधि लम्बिएसँगै खर्च पनि दोब्बरभन्दा बढी पुगेको छ । तत्कालीन समयमाा ३५ अर्ब रुपैयाँ लागत लाग्ने भनिए पनि आयोजनाको अवधि लम्बिँदा यसको लागतमा ब्याज बढेर ८० अर्बको हाराहारीमा पुगेको छ ।


क्लिकमान्डु