यात्रुको उद्दार सहज र भाडा सस्तो बनाउन उडान संख्या थप्न वायुसेवा सञ्चालक संघको माग



काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले सरकारलाई यात्रुको उद्दार सहज र सस्तो बनाउनका लागि उडान संख्या थप गर्न आग्रह गरेको छ ।

हाल अवरिल वर्षाका कारण विभिन्न ठाउँमा क्षति पुर्याएको उल्लेख गर्दै यात्रुलाई आवतजावतमा समस्या परेको भन्दै उडान संख्या थप गर्न माग गरेको छ ।

‘हाल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाई हुने देखिन्छ । उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडीको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरुले धान्नै नसकिने देखिन्छ । उडान संख्या कम हुने बित्तिकै सञ्चालन खर्च स्वतः बढ्न जान्छ, संघले भनेको छ ।

निषेधाज्ञा अघि दैनिक करिब १५ हजार यात्रुले यात्रा गरिरहेको उल्लेख गर्दै त्यसो हुनुमा उडान पर्याप्त हुँदा भाडा दर सस्तो भएको संघको भनाइ छ ।

हवाई उडानमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुने पनि भएकाले संक्रमणको जोखिम निकै न्यून हुने पनि संघको भनाइ छ । त्यसैले संघले निषेधाज्ञा अघि नै जस्तै गरी उडान संख्या कायम गर्न सरकार समक्ष माग समेत गरेको छ ।


क्लिकमान्डु