बिआईएसको बैठकमा डिजिटल करेन्सीको बारेमा चर्चा, नेपालबाट गभर्नर अधिकारी सहभागी



काठमाडौं । बैंक अफ इन्टरनेशनल सेटलमेन्ट(बिआईएस)को बैठकमा डिजिटल करेन्सीको विषयमा छलफल भएको छ ।

बिआईएसको ९१औं वार्षिक बैठकमा भर्चुअल माध्यमबाट भएको हो ।  बैठकको पहिलो दिन बैंक अफ इङ्गल्यान्ड  तथा बैंक अफ क्यानडाका पूर्व गभर्नर मार्क  क्यार्नीले केन्द्रीय बैंकको विगत र वर्तमानको तुलनात्मक भूमिका, बदलिँदो विश्व वित्तीय प्रणालीमा देखिएका नवीनम चुनौतीको विषयमा सम्बोधन गरेका थिए ।

मौद्रिक तथा वित्तीय  स्थायित्वका निम्ति केन्द्रीय बैंकले अवलम्बन  गर्नुपर्ने रणनीतिक व्यवस्थाबारे उनले धारणा राखे ।

प्रविधिमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको  प्रयोग बढ्दैगएको सन्दर्भमा सेन्ट्रल बैंक डिजिटल  करेन्सीको अवधारणाका विषयमा समेत क्यार्नीले
आफ्नो मन्तव्य केन्द्रित गरेका थिए ।

बैठकको दोस्रो दिन मंगलबार बिआईएसका  महाप्रबन्धक अगस्टिन कार्सटेन्सले आफ्नो मन्तव्य  राख्दै संस्थाको वार्षिक आर्थिक प्रतिवेदनका मुख्य झलकहरू प्रस्तुत गरे ।

सो अवसरमा उनले कोभिड–१९ का कारण शिथिल बनेको अर्थतन्त्रको दीर्घकालीन स्थिरताको निम्ति नीतिगत आधारशीला
तयार गरिनुपर्ने आवश्यकता औंल्याए ।

त्यसको लागि संरचनागत सुधार, नवप्रवर्तनात्मक प्रविधिको विकास र विश्वव्यापी नीतिगत सहकार्य एवम् समन्वय हुनुपर्ने आवश्यकतामा महाप्रबन्धक कार्सटेन्सको जोड थियो ।

मंगलबार सार्वजनिक बिआईएसको आर्थिक प्रतिवेदनले कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको उल्लेख गर्दै मौद्रिक तथा वित्तीय नीतिमार्फत त्यसलाई न्यूनीकरण गरी समष्टिगत आर्थिक  उन्मुख हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।

बैठकका दौरान सबल वित्तीय प्रणालीका निम्ति बिआईएस भएका नवीनतम र नवप्रवर्तनात्मक प्रयासबारे प्रस्तुति दिइएको थियो ।

उक्त प्रस्तुतिमाथि बैठकका सहभागीहरूबीच छलफल भएको थियो । बैठकमा बिआईएसको सदस्य बैंकसँगै अन्य केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूको सहभागिता थियो । उक्त बैठकमा  बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमेत सहभागी थिए । बिआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो ।

जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ ।

सन् १९३० मा स्थापना भएको बिआईएसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बाजलमा रहेको छ ।


क्लिकमान्डु