१० वटा संस्थाले पाए राष्ट्र बैंकबाट मर्जरको स्वीकृति, असारभित्रै एकीकृत कारोबार



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ जोडी बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ ।

केन्द्रीय बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यी बैंक तथा वित्तीय संस्थालाई १ महिनाभित्रै एकीकृत कारोबार गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।

मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति पाउनेमा २ वटा वाणिज्य बैंक, ४ वटा फाइनान्स कम्पनी र ४ वटा माइक्रोफाइनान्स कम्पनी हुन् ।

जसमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न, नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न, सिवाइसी लघुवित्तले शालिग्राम लघुवित्तलाई, नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई र नेशनल माइक्रोफाइनान्सले  महिला सहयात्रा लघुवित्तले लाई प्राप्तिको अन्तिम स्वीकृति पाएका हुन् ।

मर्जरको अन्तिम स्वीकृति पाएपछि एक महिनाभित्रै एकीकृत कारोबार गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ । तर अहिले अन्तिम स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले भने यही असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘मर्जर तथा प्राप्ति नीतिअनुसार १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने हो तर यी बैंक तथा वित्तीय संस्थाले असार मसान्तभित्रै एकीकृत कारोबार गर्न सक्छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘असार मसान्त कटाएमा अर्को आवको कारोबार लेखा परीक्षणसहित वार्षिक साधारणसभा लगायत अन्य कामहरु छुट्टै गराउनु पर्ने हुँदा उनीहरुले यही असार मसान्तभित्रै एकीकृत कारोबार गर्नसक्छन् ।’

अन्तिम स्वीकृति पाएका केही बैंक तथा वित्तीय संस्थाले एकीकृत कारोबारको मिति तय गरी सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए ।

यसअघि भुलवश महिला सहयात्रा  लघुवित्त हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।


क्लिकमान्डु