कमला-ढल्केबर-पथलैया सडकखण्डको डीपीआरका लागि ८ परामर्शदाता प्रारम्भिक सूचीमा



फाइल तस्बिर

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको कमला-ढल्केबर-पथलैया सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ८ वटा परामर्शदाता प्रारम्भिक सूचीमा परेका छन् ।

सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा कमला-ढल्केबर-पथलैया सडकखण्डलाई ४ लेनमा बिस्तार गर्ने योजना अनुसार डीपीआर बनाउने परामर्शदाताको प्रारम्भिक सूची तयार गरेको हो ।

कमला-ढल्केबर-पथलैया सडकखण्डको डीपीआरका लागि महाशाखाले २०७७ जेठ २२ गते आशय माग गरेको थियो । ४२ वटा परामर्शदाताले प्रस्ताव बुझाएका थिए । प्राविधिक मूल्यांकनमा सबल देखिएका ८ परामर्शदातालाई प्रारम्भिक चरणमा सूचिकृत गरिएको महाशाखा सिनियर डिभिजनले इन्जिनियर लक्ष्मीदत्त भट्टले जानकारी दिए ।

‘८ परामर्शदाताको प्रारम्भिक सूची बनाइएको छ । ती परामर्शदाताले प्रस्तावित ढाँचाको आशय पेश गरिसकेका छन् । महाशाखाले परामर्शदाको प्राविधिक र मोडालिटी ढाँचाको अध्ययन गरिरहेको छ’, सीडीई भट्टले भने, ‘असार महिनाभित्रमा यी परामर्शदाताको आर्थिक प्रस्ताव खोलिने छ । प्राविधिक र आर्थिक मूल्यांकनमा सबल देखिएको परामर्शदाताले डीपीआरको जिम्मा पाउनेछ । महाशाखाले असार २४ गते सूचिकृत परामर्शदातको आर्थिक प्रस्ताव खोल्ने कार्यातालिका बनाएको छ ।

महाशाखाले प्रारम्भिक चरणमा भारत, कोरिया, स्पेन र टर्कीका परार्मशतालाई सूचिकृत गरेको छ ।

प्रारम्भिक चरणमा सूचिकृत भएका परामर्शदाताहरु एम/एस जोइन्ट भेन्चर अफ इन्टरकन्टिनेन्टल कन्सल्ट्रयान्ट एण्ड टेक्नोकार्ट एण्ड दोहा इन्जिनियरिङ, भारत- एम/एस जोइन्ट भेन्चर अफ मेइनहार्ट सिंगापुर, कन्सल्टिङ इन्जिनियरिङ ग्रुप एड डोङसङ्ग इन्जिनियरिङ, सिंगापुर-एम/एस जोइन्ट भेन्चर अफ चेलि इन्जिनियरिङ एण्ड पयुन्घवा इन्जिनियरिङ, कोरिया- एम/एस जोइन्ट भेन्चर अफ डासान कन्सल्ट्रयान्ट एण्ड एलईए एसोशियट साउथ एसिया, कोरिया रहेका छन् ।

यस्तै एम/एस जोइन्ट भेन्चर अफ ईपीटीआईएसए सर्भिसियोस डे इङनेरिया एण्ड एसटीयूपी कन्सल्ट्रयान्ट, स्पेन- एम/एस जोइन्ट भेन्चर अफ सुसुङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ, डोङबु इन्जिनियरिङ एण्ड कोरिया इन्जिनियरिङ कन्सल्ट्रयान्ट, कोरिया-एम/एस जोइन्ट भेन्चर अफ या बीओटीईके बोस्फोरस टेक्निकल कन्सल्टिङ, डोङ एआईएल इन्जिनियरिङ कन्सल्ट्रयान्ट एण्ड उमर मुनशी एसोशिएट, टर्की- एम/एस जोइन्ट भेन्चर अफ आईएसएएन कर्पोरेसन, योङ्गमा इन्जिनियरिङ एण्ड एसए इन्फ्रास्ट्रक्चर कन्सल्ट्रयान्ट, कोरिया छन् ।

प्राविधिक र आर्थिक पक्षको मूल्यांकन गर्दा उत्कृष्ट हुने परामर्शदाताले डीपीआरको जिम्मा पाउनेछ । परामर्शदाताले एक वर्ष भित्रमा डीपीआर तयारगरी महाशाखालाई हस्तान्तरण गर्नुपर्नेछ ।

हाल भइरहेको २ लेनको कमला-ढल्केबर-पथलैया सडक खण्डलाई ४ लेनमा स्तरोन्नती गर्न डीपीआर तयार गर्न खोजिएको हो ।

‘पूर्व-पश्चिम राजमार्गमा सवारी चाप बढ्दो छ । सवारीको चापलाई सम्बोधन हुनेगरी सडक बिस्तार आवश्यक छ’, भट्टले भने, ‘राजमार्गलाई क्रमिकरूपमा बिस्तार गर्ने सरकारी योजना छ ।’

कमला-ढल्केबर-पथलैया सडकखण्ड विश्व बैंकको सहयोगमा बिस्तार गरिनेछ । यसमा विश्वको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लगानी रहनेछ ।

विश्व बैंकको रणनीति सडक सञ्जाल र व्यापार प्रवद्र्धधन परियोजनाअन्तर्गत कमला–ढल्केबर–पथलैया सडक रहेको छ ।

एसआरसी एन्ड टीआईपी परियोजना सञ्चालन गर्न गत जेठ २८ गते विश्व बैंकबाट ४५ मिलियन अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरिसकेको छ ।

डीपीआर तयार भए पछि सडकको विस्तृत लागतको टुंगो लाग्छ । डीपीआरको जिम्मा पाउने परामर्शदाताले एक वर्षभित्रमा सडक र ७६ पुलको डीपीआर तयार गर्नुपर्छ । डीपीआर तयार भएसँगै बिस्तारका लागि ठेक्काको सूचना प्रकाशित गरिने भट्टको भनाइ छ ।

डीपीआरको समय एक वर्ष र निर्माणको समय तिन वर्ष रहेको छ । सम्भवत २०७९ सम्म डीपीआर तयार हुनेछ । लक्ष्य अनुसार काम भएकमा २०८५ सालभित्रमा कमला-ढल्केबर-पथलैया सडक खण्ड ४ लेनमा विस्तार हुनेछ । सडकलाई ४ लेनमा विस्तार गर्ने लक्ष्य राखिए पनि सहरी क्षेत्रको सडक भने ६ लेनको हुन्छ । सहरी क्षेत्रमा स्थानीय सवारीको चाप धेरै हुने भएकाले दुर्घटनालाई न्यूनिकरण गर्न ६ लेनको सडक बनाउन खोजिएको हो ।

पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा बिस्तार गर्ने सरकारको नीति पनि रहेको छ । आगामी आर्थिक वर्षकोे बजेटमा पूर्व-पश्चिम राजमार्ग बिस्तार गर्न १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कमला-ढल्केबर-पथलैया खण्ड रसिया र भारत सरकारको सहयोगमा निर्माण भएको हो । रुस सरकारको सहयोगमा सन् १९७४ मा ढल्केबर-पथलैया खण्ड १०९ किमी र भारत सरकारको सहयोगमा सन् १९७० मा ढल्केबर-कमला २१ किमी सडक बिस्तार भएको थियो ।

शुरुवाती समयमा एक लेनमा यो सडक निर्माण गरिएको थियो । सन् १९९० मा दुई लेनमा बिस्तार गरिएको थियो । अब एसियाली राजमार्ग मापदण्ड अनुरुप डेडिकेटेड चार लेनमा कमला-ढल्केबर-पथलैया सडक खण्ड बिस्तार हुनेछ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गकै बुटवल-नारायणघाट खण्ड र कमला-कञ्चनपुर खण्ड ठेक्का ठेक्का लागेर निर्माण भइरहेको छ । नारायणगढ-पथलैया, काँकडभिट्टा-लौकी र बुटवल-गोरुसिंगे खण्ड डीपीआरको तयार भइरहेको छ । कमला-ढल्केबर-पथलैया खण्ड बाहेक अन्य खण्ड एशियाली विकास बैंकको ऋण सहयोगमा बिस्तार गरिँदै छ ।


क्लिकमान्डु