कोरोनाका कारण पर्यटकको औसत बसाइ र खर्च बढ्यो, कुल आम्दानी घट्यो
काठमाडौं । कोरोना महामारीका कारण विदेशी पर्यटकको नेपाल बसाई अवधि लम्बिएको छ ।
पर्यटन मन्त्रालयका अनुसार सन् २०२० मा प्रतिपर्यटकको औसत बसाई १५.१ दिन पुगेको छ । र, यो अहिलेसम्मकै सबैभन्दा धेरै बसाइ अवधि हो ।
यसअघि सन् २००४ मा सबैभनदा धेरै प्रतिपर्यटक बसाइ अवधि १३.५१ दिन थियो । सन् २०१९ मा भने बसाइ अवधि १२.७ दिन थियो ।
त्यसैगरी नेपाल भ्रमण गर्ने ६०.५ प्रतिशत पर्यटक विदा मनाउन नेपाल आएका थिए भने १२.४ प्रतिशत पर्यटक एड्भेञ्चरका लागि नेपाल आएका थिए । त्यसैगरी धार्मिक पर्यटकको हिस्सा १५.६ प्रतिशत छ ।
साथै नेपाल आएका अधिकांश पर्यटक ट्रेकिङ गर्ने उद्देश्यले आएको देखिएको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा यस्ता पर्यटकहरु ९२ प्रतिशतले कमी आएको छ । यो कोरोनाका कारण भएको मन्त्रालयको दावी छ ।
नेपालमा अमेरिका, बेलायत, चीन, भारत, जर्मनी र जापानबाट आएका अधिकांश पर्यटकहरु सरमाथा र आमादम्लम र मनास्लु हिमाल आरोहणका लागि आएका थिए । सन् २०२० मा नेपाल आएका कुल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकमध्ये १३ हजार ३०४ जनाले मुलुकका विभिन्न क्षेत्रमा ट्रेकिङ गरेका थिए ।
त्यसैगरी पर्यटकले गर्ने खर्चमा पनि वृद्धि भएको छ । सन् २०२० मा प्रतिपर्यटक औसत खर्च बढेर दैनिक ६५ डलर पुगेको छ ।
त्यसैगरी आम्दानीतर्फ आर्थिक वर्ष २०७५/७६मा कुल ७५ अर्ब ३७ करोड ४० लाख १० हजार रुपैयाँ रहेकोमा आव २०७६/७७ मा यस्तो आम्दानी २१.६ प्रतिशतले घटेर ६० अर्ब ८८ करोड ८० लाखमा सीमित भएको छ । मन्त्रालयका अनुसार चालु आवको पहिलो ७ महिनामा यस्तो आम्दानी ३ अर्ब ८७ करोड ५० हजार रुपैयाँ मात्रै छ ।