राजस्व असुली घटेपछि चुहावट नियन्त्रणमा आक्रामक भएर जाने केन्द्रीय अनुगमन समितिको निर्णय



काठमाडौं । कोभिड १९ महामारीका कारण अर्थतन्त्र खुम्चिएको र त्यसका असर राजस्व असुलीमा पनि देखिएका बेला राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिले राजस्व अनुगमन र चुहावट नियन्त्रणका काममा आक्रामक भएर जाने निर्णय गरेको छ ।

सोमबार राजस्व अनुसन्धान विभागका महानिर्देशक तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका संयोजक राम प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राजस्व चुहावट जोखिमका क्षेत्रहरु पहिचान गर्ने, सूचना प्रविधिको प्रयोगसँगै आर्थिक अपराधमा देखा परेका चुनौतीहरु एवं नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिहरु तथा कोभिड-१९ र यसले राजस्व संकलनमा पारेका असरहरुलगायत विषयलाई मध्येनजर गरी राजस्व अनुसन्धानका काम तीव्र पार्ने समितिले र्निणय गरेको हो ।

राजस्व संकलनलाई परिणाममूखि बनाउने तथा राजस्व चुहावट नियन्त्रणका कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अन्तर निकाय समन्वयमा जोड दिने र जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति समक्ष पेश गर्ने पनि समितिले निर्णय गरेको छ ।

त्यस्तै, राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको संरचनामा परिमार्जनका लागि सिफारिस गर्ने पनि निर्णय भएको छ ।

बैठकमा कोभिड(१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहजीकरण गर्ने र सँगसँगै राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने विषयलाई प्रमुखताका साथ उठाइएएको समितिको बैठक पछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

उक्त बैठकमा समितिका सदस्यहरु क्रमशस् भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, शसस्त्र प्रहरी बल, नेपालका नायव-महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि, विभागका उपमहानिर्देशक लगायतका उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो ।


क्लिकमान्डु