यति एयरलाइन्सले जेट स्टिम विमानको उडान रोक्यो, एटीआरबाट मात्रै उडान गर्ने
काठमाडौं । यति एयरलाइन्सले जेट स्टिम इञ्जिन भएका विमानको उडान बन्द गरेको छ ।
गुण एयरले खरिद गर्ने भनिएका यति एयरलाइन्सका ५ वटा जेट स्टिम इञ्जिन विमान अब उडान नगर्ने यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
यति एयरलाइन्सले ५ वटा जेट विमान गुण एयरलाइन्सले बिक्री गर्ने भनिए पनि हस्तान्तरण नभएकाले पछिल्लो समयसम्म उडान गरिरहेको थियो ।
‘निषेधाज्ञाका कारण आन्तरिक उडान बन्द नहुँदासम्म जेट स्टिम विमानबाट उडान भइरहेको थियो । तर असार १७ गतेदेखि हुने उडान तालिकामा जेट स्टिम विमानलाई राखिएको छैन,’ उनले भने ।
उनका अनुसार अब यति एयरलाइन्सले ५ वटा एटीआर ७२ विमानबाट मात्रै उडान गर्नेछ ।
बर्तौलाका अनुसार असार १७ गतेदेखि हुने आन्तरिक उडानमा तत्कालका लागि यति एयरलाइन्सले ७ वटा गन्तव्यमा दैनिक काठमाडौंदेखि १५ वटा उडान गर्नेछ ।
जसमा जेट स्टिम विमान उडान नगर्ने भएपछि तत्कालका लागि काठमाडौंदेखि भरतपुर र तुम्लिङटारमा उडान हुने छैन ।
‘पहिले जेट स्टिम विमान हुँदा ती गन्तव्यमा उडान भइरहेको थियो, तर अब ती विमानबाट उडान नगर्ने भएपछि दुई वटा गन्तव्यमा तत्काल उडान हुँदैन,’ उनले भने ।
यति एयरलाइन्सबाट गुण एयरले विमान खरिद गरे पनि ६ महिनासम्म प्राविधिक रुपमा यति एयरलाइन्सले नै सहयोग गर्नेछ ।
‘६ महिनासम्मका लागि टेक्निकल मेन्टिनेन्सदेखि पाइलट र एयर होस्टेससम्मका जनशक्ति पनि सहयोग गर्ने सम्झौता भएको छ,’ उनले भने ।