२१ अर्ब ७४ करोड खर्चेर सप्तकोशीमा २८ सय ६० मिटर लामो पुल बन्ने



काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको कोशी ब्यारेज छल्न वैकल्पिक सडक निर्माण हुने भएको छ ।

सुनसरीको पकली हुँदै कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको माथिल्लो क्षेत्रबाट सप्तरीको कञ्चनपुर जोड्नेगरी वैकल्पिक सडक बनाउन लागिएको हो ।

सञ्चालनमा रहेको कोसी ब्यारेज नेपाल–भारतको सीमानामा पर्ने र कोशी ब्यारेजको आयु समाप्त भएकाले नयाँ सडक निर्माण गर्न खोजिएको सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।

‘कोशी ब्यारेजको आयु समाप्त भइसकेको छ । कुनै पनि समय कोशीको बहावले ब्यारेजमा क्षति पुग्ने सम्भावना छ’, महर्जनले भने, ‘त्यसलाई न्यूनीकरण गर्न नयाँ सडक बनाउन खोजिएको हो ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने कोशी ब्यारेज नेपाल भारतको सीमा क्षेत्र भएर अघि बढ्छ ।

सन् १९६२ मा कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेड’ कम्पनीले कोशी ब्यारेज निर्माण गरेको थियो । त्यससमय पुलको आयु ५० वर्ष तोकिएको थियो ।

पुल निर्माण भएको ५९ वर्ष पूरा भइसकेको छ । सञ्चालनमा रहेको कोसी ब्यारेजको खोलाको बहाव रोक्न तथा सिँचाइका लागि निर्माण भएको हो । तत्कालिन समयमा पनि कोशीमा नयाँ पुल निर्माण गरे अघि बढ्ने कि भन्ने विकल्पमा छलफल भएको थियो । पुल निर्माण गर्दा लागत बढ्ने र ब्यारेजमाथिबाट गाडी सञ्चालन गर्न सकिने विकल्प देखिएका पुल नबनाई ब्यारेज माथिबाट गाडी सञ्चालनमा ल्याइएको थियो ।

अहिले सरकारले कोशी ब्यारेजको विकल्पमा नयाँ सडक निर्माणमार्फत् कोशी नदीमा पुल निर्माण गर्ने तयारी शुरु गरेको हो ।

निर्देशनालयले कोशी ब्यारेज छल्न ४ लेनको नयाँ सडक प्रस्ताव गरेको छ । कोरियन परामर्शदाता केईसीसी र नेपाली परामर्शदाता स्वाइल टेष्टले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वैकल्पक सडकको लम्बाई ४४.२ किलोमिटर हुनेछ ।

यो नयाँ सडक सप्तरीको कञ्चनपुर हुँदै कालिन्चोक, रामपुर, बुद्धनगर, मानपुरजोरा, एकराही, तीनकुने, राजबास, कोशी, भागलपुर, गल्फेरिया, तपेश्वरी, त्रियुगा, मालेट, धरमपुर र सुनसरीको पकलीमा जोडिन्छ ।

यो सडकमा २८ सय ६० मिटरको कोशी पुल र २१५ मिटरको त्रियुगा पुलसहित ३४ वटा पुल पर्छन् । कोशी पुल निर्माण गर्न २१ अर्ब ७४ करोड रुपैयाँ र सडक निर्माण गर्न २० अर्ब ६३ करोड रुपैयाँ लाग्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । सडक र पुलसहित आयोजना निर्माण गर्न करिब ३३ अर्ब १० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

तराई भुभागमा १०० किलोमिटर प्रति घण्टा र पहाडी क्षेत्रमा ६० किलोमिटर प्रति घण्टा सवारी गुड्न सक्नेगरी डिजाइन गरिएको छ ।

सुरुवात चरणमा वैकल्पिक सडक कोशी ब्यारेकको २ किलोमिटर माथिबाट निर्माण गर्ने योजना बनाइएको थियो । कोशी ब्यारेकको ठीकमाथि कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र पर्ने र यसका साथै पानीको बहाव रोक्न अर्को ब्यारेज निर्माण गर्नु पर्ने थियो ।

कोसी टप्पुको नजिकबाट सडक निर्माण गर्दा त्यहाँको वन्यजन्तुलाई असरपर्ने भएकाले उक्त विकल्पबाट पछि हटेको उनले बताए । लागत घटाउन तथा वन्यजन्तु संरक्षण गर्न आरक्षणभन्दा माथिल्लो क्षेत्रबाट सडक निर्माण गर्न लागिएको हो ।

साथै कोशी ब्यारेकको नजिकबाट सडक निर्माण गर्दा नदीमा ४ किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने थियो ।

ब्यारेजका कारण नेपालतर्फको भूभागमा पानीको ठूला ताल निर्माण भएको छ । बर्खायातमा कोशीमा आउने बाढीको प्रभाव पनि यही क्षेत्रमा धेरै पर्नेगर्छ । बाढीका कारण सवारीसाधन आवगनमा बाधा नहोस् भन्न नयाँ विकल्पको खोजिगरिएको उनी बताउँछन् ।

कोशी वन्यजन्तु आरक्षणको माथिल्लो क्षेत्रबाट सडक लैजादा नयाँ ब्यारेज बनाउनु पर्दैन पुल मात्र बनाए पुग्छ । ब्यारेज सहितको पुल निर्माण गर्दा लाग्ने खर्च र पर्यावरण जोगाउन आरक्षणको माथिल्लो क्षेत्र उपयुक्त हुने देखिएको छ ।

रेखांकन परिवर्तन सम्बन्धि फाइल मन्त्रालयमा
प्रस्तावित नयाँ सडकका लागि हाल कायम पूर्व-पश्चिम राजर्मागको रेखांकन परिवर्तन गर्नुपर्ने हुन्छ । नयाँ सडकको रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्ले स्वीकृती दिनुपर्छ ।

२०७५ सालमै निर्देशनालयले रेखांकन परिवर्तनको स्वीकृतिका लागि भौतिक मन्त्रालयलयमा फाइल पठाइसकेको छ । तर हालसम्म मन्त्रालयबाट मन्त्रिपरिषद्सँग पाइल पुगेको छैन ।

पूर्व पश्चिम राजमार्गको विभिन्न खण्ड एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको छ । यो खण्डमा पनि एडीबीको सहुलियतपूर्ण ऋणमा बनाउन खोजिएको छ । तर हालसम्म यो खण्ड निर्माणका लागि एडीबीले सहुलियपूर्ण कर्जा उपलब्ध गराउने निर्णय गरिसकेको छैन । एडीबीले ऋणको सुनिश्चिता दिएपछि मात्रै रेखांकन परिवर्तनका लागि मन्त्रिपरिषद्मा पाइल पठाउने योजनामा मन्त्रालयल रहेको छ ।


क्लिकमान्डु